धरान: कोरोना विरुद्धको खोप कार्यक्रम अव्यवस्थित भएको, लापरवाही भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै धरानमा राजनीतिक दलहरुबाट पनि अनुगमनको लागि प्रतिनिधि पठाउने निर्णय भएको छ । 

मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार खोप अभियानबारे भएको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसअघि तीन दिनसम्म भेरो सेलको खोप अभियानमा थुप्रै कमी कमजोरीहरु भएको विषयमा समिक्षा गर्दै आगामी खोप कार्यक्रमलाई व्यवस्थित, सरल र सहज बनाउने निर्णय पनि गरेको छ । 

बैठकले ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनको लागि १/१ जना प्रतिनिधि पठाउने निर्णय गरेको मेयरका प्रेस संयोकज पारस राईले जानकारी दिएका छन् । उनका अनुसार धरानको ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १÷१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ । खोप केन्द्रहरुमा लक्षित समुहका वडाहरुको अलग÷अलग लाईन लगाएर खोप लगाउने व्यवस्था गर्ने पनि निर्णय गरेको छ । 

यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनीतिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाएर लक्षित समुहको तथ्यांक संकलन गर्ने र खोप केन्द्र व्यवस्थापन गर्ने समेत निर्णय भएको छ । उक्त संयन्त्रले उपमहानगरपालिकालाई सुझाव दिने गरि वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ । बैठकमा उपमेयर मञ्जु भण्डारी, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघिय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरुको उपस्थिति रहेको थियो । 

धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो । यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए । धरानमा अब केही दिनभित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदैछ । यो खोप ५० देखि ५४ बर्ष उमेर समुह र अन्य लक्षित समुहलाई दिइनेछ ।