धरान: सुजुकीको बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटरको धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । 

सुजुकी स्कुटर तथा मोटरसाइकलको धरानको लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसले आइतबारदेखि यो स्कुटरको बिक्री शुरु गरेको हो । धरान ८ स्थित नवदुर्गा अटो प्यालेसमा एक कार्यक्रमबीच धरानका मेयर तिलक राईले उक्त स्कुटरको लञ्च गरेका थिए । मेयर राईले धरानलाई अटो हब बनाउन यहाँका अटो व्यवसायीहरुले ठुलो लगानी गरेको भन्दै प्रशंसा गरे । उनले यसले धरानको आर्थिक उन्नति र प्रगतिमा पनि सहयोग पुगेको बताए । 

मेयर राईले २ चक्कै सवारीसाधनहरु बिक्री वितरण गर्दा कम्तीमा सवारी चालक अनुमति पत्र भए नभएको ख्याल गर्न पनि आग्रह गरे । साथै उनले अनुमति पत्र नभएको र ब्लुबुक पनि अरुकै नाममा भएको सवारी दुर्घटना हुँदा समस्या हुने भएकोले बिक्रेताहरुले नै यसबारे सचेत हुनुपर्ने बताए । 

दैनिक प्रयोजनमा निक्कै उपयोगी सुजुकी एक्सेस स्कुटर

यो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमा पर्छ । विगतमा पनि मध्यम वर्गले अत्यधिक रुचाएको स्कुटरमा सुजुकी एक्सेस पर्छ भने व्यवसायिक प्रयोजनमा पनि निक्कै रुचाएको स्कुटर हो । यसमा अगाडि ग्यास सिलिण्डर अटाउने, फराकिलो सिट र आरामदायी यात्रा हुने बिक्रेताको भनाई छ । दैनिक प्रयोजनको लागि निक्कै उपयोगी हुने र मर्मत खर्च पनि अरु भन्दा कम हुने दाबी बिक्रेताको छ ।

suzuki2

नेपाल भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिण्डर एयरकुल्ड जडित इञ्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बिएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधिसमेत रहेकोले उत्कृष्ट माइलेज आउने नवदुर्गा अटो प्यालेसका प्रोपाइटर दुर्गा भुजेलले बताए । 

उनका अनुसार २ भल्वयुक्त इञ्जिन प्रयोग भएको यो स्कुटरमा एलइडी हेडल्याम्प र बाहिरैबाट पेट्रोल भर्न सकिने सुविधा छ । सुजुकी स्टार्ट सिस्टम र किक स्टार्ट दुवैको व्यवस्था रहेको छ भने २२ लिटर बराबरको स्टोरेज पनि राखिएको छ । साथै, मोवाइल चार्जिङ प्वाइन्ट पनि जडान छ । दुवै चक्कामा अलोय ह्विल प्रयोग गरिएकोले स्कुटरको जम्मा तौल १०३ केजी रहेको सञ्चालक भुजेलले बताए । उनका अनुसार रातो, निलो, खैरो र कालो गरि ४ कलरमा रहेको यो स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिनेछ । साउन महिनाभरि नगदी खरीदमा १० हजार छुट दिइने पनि उनले बताए । 

suzuki

suzuki4

suzuki3