धरान: खोप कार्यक्रम अव्यवस्थित भएको भन्दै चर्को आलोचना भएपछि धरानका वडाहरुलाई आलोपालो गरेर खोप लगाउने व्यवस्था गरिने भएको छ । 

धरान उपमहानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । खोप कार्यक्रमलाई व्यवस्थित गर्न वडाहरुलाई अलग अलग दिनमा आलोपालो गरेर खोप लगाउने व्यवस्था गर्ने बैठकले निर्णय गरेको हो । यसअघि ७ वटा केन्द्रहरुमा एकै पटक विभिन्न वडाका लक्षित समुहलाई खोप लगाउने गरिएको थियो । त्यसो गर्दा अव्यवस्थित भएको कारण व्यवस्थित र सहजरुपमा खोप लगाउन वडाहरुलाई आलोपालो प्रणालीबाट दिन तोकेर खोप लगाउने व्यवस्था गरिने मेयर तिलक राईले जानकारी दिए ।

मेयर राईका अनुसार विगतमा खोप लगाउनेको संख्या थोरै भएको कारण व्यवस्थापनमा समस्या थिएन । तर, अहिले कोभिडको तेस्रो लहर आउने हल्लासँगै खोप लगाउन चाहने नगरबासीहरुको पनि संख्या ह्वात्तै बढेपछि स्वास्थ्य महाशाखालाई सिमित जनशक्तिको भरमा व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । त्यसैले अबको खोप अभियान सिंगो उपमहानगरपालिकाले जिम्मा लिएर प्रशासनमार्फत व्यवस्थापन हुने मेयर राईले बताए । 

मेयर राईका अनुसार खोप केन्द्रलाई मतदानको बेलाको केन्द्र जस्तै मानेर ७ वटै खोप केन्द्रमा अधिकृत खटाइनेछ । खोपलाई बीचमा चुहावट हुन नदिन स्टोरबाट कुन केन्द्रमा कति खोप गयो, र कति उब्रिएर आयो भन्ने भर्पाइ गरेर राखिने पनि मेयर राईले बताए । साथै, व्यवस्थित गर्नको लागि ३ दिन हुने खोप अभियानलाई एक दिन ७ वटा वडालाई मात्र लगाउने गरि व्यवस्थापन गरिने पनि मेयर राईले बताए । ‘खोप केन्द्र कम राख्ने । एक दिनमा ७ वटा वडालाई खोप लगाउने । अर्को दिन ७ वटालाई र अर्को दिन ६ वटा वडालाई खोप लगाउने भनेका छौं,’मेयर राईले भने,‘व्यवस्थित गर्नलाई यो भन्दा विकल्प छैन । हामी प्रत्येक वडालाई खोप दिएर खोप अभियान गर्न सक्दैनौं ।’

भिडियो: