विराटनगर: प्रहरीले अस्पताल र फार्मेसीका विचौलियाहरुलाई पक्राउ गरेपछि बुधबार विराटनगरका मेडिकल सञ्चालकहरुले मेडिकल बन्द गरेर आन्दोलन गरेका छन् । 

नोबेल अस्पताल बाहिर मेडिकल सञ्चालन गर्दै आएका औषधी व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले मेडिकल बन्द गरेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले मंगलबार राती विचौलियाको काम गर्ने १० जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका ती व्यक्तिहरुले विभिन्न अस्पतालमा उपचार गर्न आएका विरामी र तिनका आफन्तहरुलाई अस्पतालबारे गलत कुरा सुनाएर भड्काउने र आफ्नो सम्पर्कमा भएको अस्पतालमा उपचार गर्न पुर्याउने गरेको प्रहरीको दाबी छ । यस्तै, उनीहरुले आफ्नो सम्पर्क भएको मेडिकलमा औषधी खरिद गर्न पनि विरामीका आफन्तहरुलाई बाध्य पार्ने गरेको अनुसन्धानबाट खुलेपछि विचौलियाहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 

पक्राउ परेका १० जना मध्ये ७ जना नोवेल अस्पताल बाहिर सञ्चालनमा रहेको फार्मेसीमा कार्यरत हुन् । प्रहरीले अन्य ३ जनालाई कोशी अस्पतालबाट पक्राउ गरेको थियो । आन्दोलनमा उत्रिएका मेडिकल सञ्चालकहरुले विना कारण आफ्ना सहकर्मीहरु पक्राउ गरेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले प्रहरीविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए । उनीहरुले पक्राउ परेकाहरु आफ्नो सहकर्मी भएकोले निसर्तरुपमा रिहाई गर्नुपर्ने माग गरेका थिए । नोबेल फार्मेसी समाजका अध्यक्ष राजकुमार यादवले प्रहरीले ज्यादती गरेको दाबी गर्दै विना सर्त सबैलाई रिहाई गर्नुपर्ने बताए । 'हाम्रो साथीहरुलाई निसर्तरुपमा छोड्नुपर्छ, र प्रशासनले हामीलाई निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण सृर्जना गरिदिनुपर्छ,'उनले भने । 

bichauliya 1

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनसरीको दुहबी ६ का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा २ का २० बर्षीय सुर्यनारायण यादव, मोरङ कटहरी ३ का ४२ बर्षीय मो.जलिद, विराटनगरका १८ बर्षीय विश्वास मण्डल, २३ बर्षीय रोशन गुप्ता, १९ बर्षीय सुजित यादव, २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र अमित यादवलाई विचौलियाको आरोपमा पक्राउ गरिएको छ । उनीहरुले विराटनगरमा रहेका विभिन्न अस्पतालमा उपचार गराउन आएका विरामी र तिनका आफन्तहरुाई भेटेर 'यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन' जस्ता अफवाह फैलाउने गरेको प्रहरीको दाबी छ । विचौलियाहरुले विरामी र विरामीका आफन्तहरुलाई आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि पुर्याउने र आफ्नो सम्पर्कमा भएको फार्मेमीमा औषधी खरिद गर्न बाध्य पार्ने गरेको मोरङ प्रहरीको भनाई छ ।