धरान: विगतमा माधव नेपाल खेमामा रहेपनि नयाँ पार्टी गठन भएपछि नगएका सांसद लक्षमण तिवारी र बलबहादुर साम्सोहाङ प्रदेश नं १ मा मन्त्री बनेका छन् ।

तिवारी तेह्रथुमबाट निवार्चित सांसद हुन् भने साम्सोहाङ ताप्लेजुङबाट सांसद बनेका हुन् । साम्सोहाङ सामाजिक विकास मन्त्रीमा र तिवारी उद्योग, वन, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । दुवैलाई प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले सपथ ग्रहण पनि गराइसकेका छन् । विगतमा माधव नेपाल पक्षमा रहेका दुवै जना पार्टी विभाजन भएपछि भने एमालेमै रहेपछि मन्त्री पाएका हुन् । 

मुख्यमन्त्रीबाट शेरधन राईले हिजो बिहिबार राजिनामा दिएपछि संसदीय दलको नेतामा चुनिएका भीम आचार्य मुख्यमन्त्री भएका थिए । उनले हिजो एक्लै सपथग्रहण लिएका थिए । विगतमा माधव नेपाल खेमाका आचार्य पनि पार्टी विभाजनको पक्षमा नलागी एमालेमै रहेका थिए । नयाँ पार्टीमा ५ जना मात्र एमाले सांसद गएमा सरकार अल्पमतमा पर्ने भएपछि एमालेकै सरकारलाई निरन्तरता दिन राईले मुख्यमन्त्रीबाट राजिनामा दिएका हुन् । उनको राजिनामा पछि आचार्य मुख्यमन्त्री बनेर माधव नेपालको पार्टीमा जानबाट सांसदहरुलाई रोक्न हरसम्भव प्रयास भइरहेको छ ।