धरान: प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइराला र एमाले नेता हिक्मत कार्कीबीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । सांसद कोइरालाको निवास सुनसरीको इनरुवामा भएको भेटवार्तामा वर्तमान मुख्यमन्त्री भीम आचार्यको सरकारलाई समर्थन गर्नेलगायत बिषयमा छलफल भएको प्रदेशका पुर्वमन्त्रीसमेत रहेका कार्कीको सचिवालयले जानकारी दिएको छ । कार्कीको सचिवालयले फेसबुकमार्फत भनेको छ,‘ लोकतान्त्रिक मुल्य, मान्यता लाई स्थापित गर्न टुट फुट लाई प्रसय दिन नहुने र नेकपा एमालेका केन्द्रिय कमिटी सचिव माननीय भिमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकार लाई समर्थन गर्ने लगायत विषयमा छलफल भएको छ ।’

कांग्रेस नेता कोइरालाले पनि प्रदेशको पछिल्लो तरल राजनीतिक अवस्थाबारे चिया गफ भएको बताए । नेता कोइरालाका अनुसार पुर्वमन्त्री कार्कीले वर्तमान सरकारलाई समर्थन गर्नेलगायतका बिषयमा कुरा राखेका थिए । ‘उहाँले आफ्नो कुरा राख्नुभयो, मैले पनि आफ्नो कुरा राखेको हो । खासमा हाम्रो सामान्य चियागफ हो,’कोइरालाले भने ।

एकीकृत समाजवादीतिर नजर

मुख्यमन्त्रीमा एमाले नेता भीम आचार्य नियुक्त भएपनि सरकारको आयु कतिञ्जेललाई हो भन्ने प्रष्ट छैन । प्रदेश १ मा एमालेको बहुमत भएपनि माधव नेपालको अध्यक्षतामा बनेको नेकपा(एकीकत समाजवादी)मा कति एमाले सांसदहरु जान्छन् भन्नेमा मुख्यमन्त्री आचार्यको सरकारको आयु निर्भर छ । 

एमालेको ६ जना सांसद मात्रै समाजवादीतर्फ गएमा सरकार अल्पमतमा पर्नेछ, र विपक्षी गठबन्धनले सरकार बनाउनेछ । त्यसैले नेकपा एमाले आफ्ना प्रदेश सांसदहरुलाई समाजवादीतिर जान नदिन हरसम्भव प्रयास गरिरहेको छ । मन्त्री बनाउने अफर समेत आएको केही सांसदहरुले बताइरहेका छन् । एमालेका १० जना सांसदहरु अहिले पार्टीको सम्पर्कमा नभएको खबरहरु सार्वजनिक भइरहेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि एकीकृत समाजवादीमा कति एमालेका सांसदहरु आउछन् भन्नेमा प्रतिक्षामा रहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता कोइराला भन्छन्,‘जबसम्म एकीकृत समाजवादीमा कति सांसद हुन्छ भन्ने क्लियर हुदैन, तबसम्म हामीले सरकारमा दाबी गर्ने परिस्थिति बन्दैन । अहिले नै परिपक्क अवस्था छैन ।’ नेता कोइरालाले मुख्यमन्त्रीमा एमाले नेता आचार्यलाई हतारमा प्रदेश प्रमुखले सपथ ग्रहण गराएकोप्रति पनि कांग्रेसको असन्तुष्टी रहेको बताए । सोमबार संसदीय दलको बैठकले उक्त सपथ ग्रहण बैधानिक नभएको ठहर गरेको कोइरालाको भनाई छ ।