धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।
आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्टीहरुबीचको द्धन्दले सृर्जना भएको राजनीतिक उथलपुथललाई चाडै टुंग्याउने पनि बताए । दल भिवाजन भएपछि एक महिनाभित्र विश्वासको मत लिने भन्दै मुख्यमन्त्री आचार्यले भने,‘औपचारिकरुपमा दल विभाजन भएपछि म विश्वासको मत लिन्छु, र यो सरकार जनताको अपेक्षा, राष्ट्रको आवश्यकताको आधारमा विकास काम गर्दै अघि जाने भएकोले सबैले सरकार गर्छन् भन्ने अपेक्षा लिएको छुँ । त्यसअर्थमा हामी विश्वासको मत लिन सफल हुनेछौं ।’
विकास र समृद्धिको मास्टरप्लान बनाएको थिएँ
मुख्यमन्त्री आचार्यले शुरुमा नै १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने चाहना राखेर आफु संघीय संसदमा नगई प्रदेशमा आएको पनि खुलाए । उनले डेढ बर्ष समय लगाएर प्रदेशको विकास र समृद्धिको मास्टरप्लान बनाएको पनि बताए । ‘तीन वटा उपसमिति बनाएर लामो छलफल गरेर मास्टरप्लान बनाएको थियौ, कानुनको अभावमा काम गर्न अफ्यारो पर्छ, लामो समय लगायो भनेर अरु समय खेर जान्छ भनेर ४० वटा कानुनको मस्यौदा तयार गरेका थियौं,’आचार्यले भने,‘मैले त्यतिखेर नै काठमाण्डौं र विराटनगरमा गरि राजश्वलाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर अनौपचारिक कार्यदल जस्तो बनाएको थिएँ ।’
आचार्यले जनतालाई अतिरिक्त भार नपर्ने गरि बजेट वृद्धिको आयोजनाहरु सञ्चालन गर्ने, मास्टरप्लानको आधारमा सिंगो प्रदेशको सबै क्षेत्रको विकासको कुरालाई अघि लैजाने, नयाँ शुरुवात भएकोले त्यतिबेला फटाफट कानुन बनाउने भनेर अघि बढाउन खोजेको बताए । ‘तर दुर्भाग्यवश पार्टी भित्रको अनेकौ आरोह अवरोहको कारण त्यो अवस्था आउन सकेन, अहिले अहिले राजनीतिक उथलपुथल हुदै जादा म यहाँको मुख्यमन्त्री बनेको छुँ,’आचार्यले भने ।
सुशासन, सुरक्षा प्रत्याभूति र विकासको काम शुरु
वर्तमान सरकारसँग अब एक बर्ष जति मात्र समय भएकोले सरकारले सुशासनको क्षेत्रमा, सुरक्षाको प्रत्याभूतिको क्षेत्रमा र विकासको क्षेत्रमा गर्नुपर्न कामहरुको प्रत्यन्न शुरु गरेको आचार्यको भनाई थियो । उनले आफु मुख्यमन्त्री भएपछिको पहिलो मन्त्रीपरिषद बैठकले यातायात कार्यालयलाई एक महिनाभित्र अनलाइनमा लैजाने निर्णय गरेको जानकारी दिए ।
यस्तै, कोभिडको सन्दर्भमा पनि तेस्रो लहर आउनसक्ने भएकोले निःशुल्क उपचार अघि बढाउन, अस्पतालमा आवश्यक बेड, भेन्टिलेटर, आइसियु, अक्सिजन अभाव नहोस् भनेर शुरुवात गर्ने भनेर निर्णय गरेको पनि बताए । ‘अस्पतालको लागि १० करोड छुट्याएका छौं । केही न केही सुशासनको कार्यहरु अघि बढाउछौं । राजनीतिक अवस्थाले साथ दिएसम्म विकास र समृद्धिको काम अघि बढाउछौं,’आचार्यले भने ।