धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा उपचारको लागि आएका विरामीहरु आज निराश भई फर्किएका छन् ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले कोभिड र इर्मजेन्सीबाहेक सेवा बहिष्कार गरेका कारण ओपिडीमा उपचारको लागि आएका विरामीहरु निराश भई फर्किएका हुन् । संघर्ष समितिले आजदेखि कोभिड र इर्मजेन्सीबाहेकका सेवाहरु ठप्प पारेका छन् । थुप्रै विरामीहरु डाक्टर भेट्न, रिपोर्ट लिन आए पनि सेवा नपाई फर्किएका छन् ।
बाहिरै सेवा दिन तयार
आन्दोलनरत संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले सरकारले नै आफुहरुलाई सेवा बहिष्कार गर्न बाध्य बनाएको बताए । उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन नभएकोले सेवा बहिष्कार गरेको उनको भनाई छ । डा.रिमालले इर्मजेन्सी र कोभिड अस्पतालको सेवा भने बहिष्कार नगरेको र आन्दोलनबारे थाह नपाएर ओपिडीमा जचाउन आएका विरामीहरुलाई सम्पर्कमा आए आवश्यक जाँच गर्ने बताए ।
संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले पनि आन्दोलनकर्मीहरुले मागहरुसहितको पुर्जा तयार गरेर सम्पर्कमा आएका विरामीहरुलाई जाँच गरेर पठाउने बताए । उनले स्थापनाकालदेखि हालसम्मको प्रतिष्ठानको अवस्थाबारे छानबिन गर्न आयोग गठन गर्नुपर्ने, पदाधिकारी नियुक्तीको कार्यविधि अनुसार समिति गठन गर्नुपर्ने र दोषी देखिएका वर्तमान पदाधिकारीहरुलाई कारबाही गर्नुपर्ने माग सरकारले तत्काल पुरा गर्नुपर्ने बताए ।