धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानले भुमिसुधार कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।

जग्गा किनबेच भएको चार दशकपछि मृतक मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुरको नाममा मोही हक नामसारी गरिदिने भुमिसुधारको निर्णयविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरावेदन गरिएको हो । पहिलो तारिख माघ २ गते पाएको पनि उनले बताए । क्याम्पस प्रमुख भण्डारीले भने,‘पुष १४ गते पुनरावेदन गरेका छौं, हाम्रो पहिलो तारिख माघ २ गते छ ।’

किनबेच भएको चार दशकपछि मोहीको हकवाला छोरालाई अघि सारेर भुमाफियाहरुले क्याम्पसको करोडौंको जग्गा हडप्न चलखेल शुरु गरेका थिए । मोहीका छोरा यज्ञबहादुरले भुमिसुधार कार्यालयमा मृतक बुबाको नामको मोही हक नामसारी गरिदिन निवेदन दिएका थिए । त्यसविरुद्ध क्याम्पस प्रशासनले भुमिसुधारमा मोहीको जोतभोग नभएको र तिरो पनि नतिरेको, उक्त जग्गा क्याम्पसले हकभोग गरेर भवनसमेत बनाएको दाबी गर्दै मोही लगत कट्टा गर्न अर्को निवेदन दिएको थियो । तर, भुमिसुधारले एकपक्षीयरुपमा मोही नामसारी गरिदिने फैसला गरेको थियो । सोही फैसलाविरुद्ध क्याम्पसले पुनरावेदन गरेको हो । 

जग्गाको मोही डम्बर बहादुर घिमिरेको मृत्यु भएको २२ बर्ष बितिसकेको छ । क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठका अनुसार मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बेचिएको थियो । तर, स्रेस्ताबाट मोहीको लगतकट्टा नहुदा अहिले भुमाफियाको चलखेलले समस्या उब्जिएको हो ।