धरान: सरकारले अस्पताल सञ्चालन तथा दैनिक प्रशासनिक कार्य गर्न पठाएका प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादव र कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आइपुगेका हुन् ।

आज (सोमबार) दिउँसो करिब ३ बजेतिर डा.यादव र अधिकारी प्रतिष्ठान आएका हुन् । डा.यादव हिजो नै विराटनगर आएर बसेका थिए । उनी आज कोषतथा लेखा नियन्त्रक कार्यालयका प्रमुख अधिकारीलाई लिएर प्रतिष्ठान आएका हुन् । 

प्रतिष्ठान आएर दुवैले कर्मचारी प्रशासन प्रमुख उमेश कोइरालालाई भेटेर मन्त्रालयको पत्र बुझाएका थिए । त्यसपछि गेष्ट हाउसमा पुगेका दुवैले प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरुसँग छलफल गरिरहेका छन् । उनीहरुले डेपुटी अस्पताल निर्देशक डा.विकास साह, एकेडेमिक डिन डा.सिवेन्द्र झा, एसिस्टेन्ट डिन परीक्षा डा.भावेश कोइराला,  डेन्टल चिफ, स्कुल अफ पब्लिक हेल्थ प्रमुख प्रा.डा.पारस पोख्रेल, नर्सिङ प्रमुख, डेन्टल चिफलगायतसँग भेट गरेका छन् ।

सरकारले प्रतिष्ठानका विवादित उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई काम गर्न रोक लगाएर डा.यादव र अधिकारीलाई प्रतिष्ठान सञ्चालन गर्न पठाएको हो ।