धरान: नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग राखेका छन् । 

संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै शेर्पालुङ-किरात-मधेश-लिम्बुवान नामकारण गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पासहित पुगेको टोलीले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् ।

sherpa1

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षमा रहेको भन्दै पहिचानको कुरा उठाएको हुनाले नै ६२/६३ को आन्दोलन भएको बताए । उनले अब नेताहरुले ढाट्न नहुने उल्लेख गर्दै बोली एकातिर काम अर्कोतिर गर्न नहुने पनि बताए । मुख्यमन्त्री राईले भने, 'कि पहिचान स्वीकार छैन भन्न सक्नुपर्छ । होइन भने, भोट माग्नेबेला एउटा कुरा, निर्णय अर्को गर्न हुदैछ ।' उनले यहीँ फागुन १५ गतेदेखि संसद सुचारु हुने भएकोले यही हिउदे अधिवेशनबाट नामाकरण टुङ्गो लगाउने पनि बताए ।

प्रदेश नामाकरण छलफल संयोजक तथा स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा राख्ने ढोका प्रदेश नम्बर २ बाट खुलेको बताए । प्रदेश १ को नाम पनि पहिचानको आधारमा राख्न सके हिजोको दिनमा राखिएका अन्य प्रदेशको नाम पनि भोलिको दिनमा बाध्य भएर नाम राख्छ्न् कि भन्ने कुरा प्रस्तुत गरेको बताए । सबै ज्ञापन पत्रलाई समन्वयकारी भुमिकामा प्रवेश गराउने पनि मन्त्री यादबले बताए ।

sherpa2