धरान: प्रदेश नं १ को नाम के राख्ने ? निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुख खोलेका थिए ।
गृहजिल्ला झापामा प्रेस चौतारी नेपालको प्रदेश १ अधिवेशन उद्घाटनको क्रममा उनले प्रदेशको नाम कोशी राख्न सुझाव दिएका थिए । प्रदेश १ को नामकरणबारे एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका पुर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालको पनि ओलीकै लाइन देखिएको छ । एमाले र ओलीको चर्को आलोचना गरिरहेका अध्यक्ष नेपालले पनि प्रदेश १ को नाम कोशी वा सगरमाथा राख्नुपर्ने सुझाव दिएका छन् ।
शुक्रबार धरानको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले केपी ओलीले पनि कोशी प्रदेश नाम राख्न दिएको सुझाव ठिकै भएको टिप्पणी गरे । उनले भने, ‘यसमामिलामा केपी ओली जीको मति ठिकै भएको जस्तो लाग्यो । उहाँले कोशी प्रदेशको नाम राख्नु भएको छ, कोशीबासीहरुको सान बढाउन खोज्नु भएको छ ।’
अध्यक्ष नेपालले आफुलाई सगरमाथा पक्षधरहरुले प्रदेश १ को नाम सगरमाथा जोडिदिनुस् भन्दै आग्रह गरेको पनि बताए । उनले आफुहरु सबै जातजातिको भुमिकालाई सम्मान गर्ने, भाषा र सँस्कृतिको सम्मान गर्ने तर देशलाई जातीय द्धन्दमा लैजान नदिने पनि बताए । उनले भने, ‘जातीय द्धन्दले युरोप कसरी ग्रस्त भएको छ भन्ने अनुभव हामीलाई थाह छ । सबैलाई मान्य हुने नाम राख्दा राम्रो हुन्छ । कोशीको कुरा भयो, सगरमाथाको कुरा भयो, यस्तो खालको नाम राख्दा राम्रो हुन्छ ।’
अध्यक्ष नेपालले किरात प्रदेश नामको बिषयमा असहमति जनाउदै कुनै जाति वा सभ्यता झल्कने गरि नामकरण नगर्न सुझाव दिए । हिन्दु पनि सभ्यता भएको भन्दै उनले नेपाललाई नै हिन्दुराज्य घोषणा गर्न भनिरहे पनि स्वीकार नगरिएको बताए ।