धरान: छैटौं टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप धरानमा शुरु भएको छ ।
धरान १७ स्थित श्री घोपा माविको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको चैत ११ फाइनल हुने प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक हराईजन र त्रिभुवन आर्मी क्लबबीच भएको थियो । उद्घाटन खेलमा आयोजकलाई १३१– ८६ स्कोरले हराउदै आर्मीले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आर्मी प्रतियोगिताको साविक विजेता टोली पनि हो ।
खेलको म्यानअफ द म्याच आर्मीका निश्चल महर्जन भए । उनले खेलमा सर्वाधिक २७ स्कोर गरेका थिए । प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लबसहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङको सहभागिता रहेको छ भने त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स बास्केटवल क्लब काठमाण्डौं पनि सहभागी भएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया हात पर्नेछ भने उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउने आयोजक हराईजन क्लबले जनाएको छ । क्लबका अध्यक्ष वसन्त राईका अुनसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् ।
२०६९ सालदेखि सुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा आयोजक हराईजन क्लब विजयी भएको थियो भने २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजयी भएको थियो । यसै गरी २०७७ मा नेपाल आर्मी क्लब काठमाण्डौं विजयी भएको थियो ।