धरान: पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घरभएकी इन्द्रकला नेम्बाङ (निक्की) कक्षा ५ उर्तीण भएपछि थप अध्ययनको लागि धरान आइन् ।  उनी धरान १९ स्थित आफ्नै छ्यामाको घरमा बसेर पढ्न थालिन् । 

प्रत्येक शनिबार बिहान धरान ८ यलम्बर वन समुहबाट हुने ३.५ किलोमिटरको धरान रनमा उनी पनि सहभागी हुन्थिन् । त्यसबेला उनी १६ बर्षकी थिइन् । धरान रनले हरेक बर्ष नेपालकै ठुलोमध्येको एक नेवा च्यारिटी १० के रन पनि विभिन्न उमेर समुहमा आयोजना गर्छ । उनी १६ बर्षमुनिका दौड प्रतियोगितामा सहभागी भइन्, र प्रथम पुरस्कार पनि जितिन् । यो पुरस्कारले उनलाई थप हौसला दियो । त्यसयता उनी निरन्तर दौडिरहेकी छिन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै पुरस्कार पनि जितेको जितेकै छिन् । उनी द्धवाथलन र ट्रायथलनको राष्ट्रिय खेलाडी भएकी छिन् ।

nikki2

अहिले उनी २३ बर्षकी भइन् । यो बीचमा उनले डेढ दर्जन हाराहारीमा विभिन्न प्रतियोगिता जितिन् । हालैको कुरा गरौ न । हिजो (शनिबार) भारतको सिक्किम राज्यको नाम्चीमा आयोजित इपिक हिमालयन द्धवाथलन प्रतियोगिता(स्प्रिन्ट डिस्टेन्स)मा महिलातर्फ प्रथम भइन् । प्रतियोगितामा ५ किलोमिटर रनिङ, २० मिलोटिमर साइक्लिङ र २.५ किलोमिटर रनिङ थियो । उनले यो दुरी १ घण्टा २७ मिनेटमा पुरा गर्दै प्रथम भइन् । निक्कीले नगद पुरस्कार ३० हजार भारु, ट्रफी, मेडल र प्रमाणपत्र पनि जितिन् ।

करिब ४ साताअघि १३.५ किलोमिटरको नुवाकोटको झिल्टुङ क्रस कन्ट्री रनिङमा प्रथम हुदै उनले नगद १५ हजार जितिन् भने त्यसपछि गोर्खामा आयोजित लिगलिग ५३ किलोमिटर साइकल रेसमा तेस्रो हुदै नगद १५ हजार पुरस्कार थापिन् । त्यसपछि, भोजपुर ट्रेल रेसमा पनि ५० किलोमिटरमा महिलातर्फ प्रथम हुदै उनले नगद ५० हजार पुरस्कार जितिन् । पोखरामा आयोजित एसियन च्याम्पियनसिप कप (स्प्रिङ डिस्टेन्स द्धवाथलन)मा उनी तेस्रो भइन् । यी प्रतियोगिताहरु उनले हालै सहभागी भएर पुरस्कार जितेकी हुन् । विगतका बर्षहरुमा पनि उनले थुप्रै पुरस्कार जितेकी छिन् । 

मिरा राईबाट प्रेरणा

nikki7

अल्ट्रा धाविका मिरा राईबाट उनी प्रभावित भएकी हुन् । निरन्तरको मेहनतले गर्दा निक्कीले दौडन थालेको ५ बर्षमै धेरै सफलता पनि हासिल गरेकी छिन् । उनी पनि मिराले जस्तै अन्तराष्ट्रियरुपमा नेपाललाई चिनाउन चाहन्छिन् । संयोग कस्तो रह्यो भने मिरा राई इन्स्टिच्युटबाट छनौट भएर उनले ९ महिना दौडको प्रशिक्षण लिने अवसर पनि पाइन् । ‘मिरा दिदीबाट म प्रभावित भएको हुँ, पछि उहाँकै संस्थाबाट तालिम लिने मौका पनि पाएँ,’उनी भन्छिन् ।

'एडभेञ्चर गेम मनपर्छ'

nikki4

निक्कीलाई साहसिक खेलहरु मनपर्छ । त्यसैले दौडदा दौडदै उनी द्धवाथलन र ट्रायथलनतर्फ आकर्षित भइन् । अब उनी यी खेलहरु छोड्न नसक्ने अवस्थामा छिन् । यद्यपी, ट्रायथलनको लागि धरानमा स्वीमिङको सुविधा नहुँदा उनलाई समस्या छ । तर, द्धवाथलनमा पर्ने दौड र साइक्लिङ भने नियमित अभ्यास गर्छिन् । ट्रायथलन धरानले सपोर्ट गरेको उनको भनाई छ । 

निक्की देशको लागि केही गर्न सकिन्छ भन्ने सोचेर निरन्तर खेलमा लागेको बताउँछिन् । भन्छिन्,‘महिला भएर पनि देशको लागि केही गर्न सकिन्छ । ट्रायथलन एडभेञ्चर गेम भएकोले पनि मलाई असाध्यै मन पर्छ । यसमा ३ वटै खेलको मजा पनि लिन सकिन्छ ।’ 


nikki1

nikki5

nikki3

nikki6