धरान: उदयपुरमा हजुरआमा हत्या आरोपमा नाती पक्राउ परेका छन् भने मोरङमा श्रीमति हत्या गरी फरार रहेका श्रीमान पनि समातिएका छन् । 

प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनका २६ बर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंशबण्डाको बिषयमा बिबाद हुँदा रोहितले हजुरआमाको हत्या गरेको प्रहरीको भनाई  छ। 

हजुआमासँग झगडा हुँदा रिसको आवेगमा आएर रोहितले हजुरआमाको शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय कटारीले कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी  थप अनुसन्धान भईरहेको जनाएको छ । 

यसैगरि, मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको हो । जेठ ६ गते राती ९ बजे घरायसी विवादको कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरको हत्या गरेका थिए । प्रहरीका अनुसार उनले काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेर फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय मोरङले राजभरलाई जेठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरलाई मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।