धरान: श्रमदानबाट भालुखोला र सेउती खोलाको मुहानबाट संकलन गरिएको पानी धरान वडा नं १५ का उपभोक्ताहरुलाई वितरण गरिएको छ । 

श्रमदानबाट नै निर्माण गरिएको इन्टेकबाट आज (मंगलबार) पानी उपभोक्ताको घरमा पठाइएको हो । मेयर हर्क साम्पाङले भल्व खोलेर भालुखोला इन्टेकबाट आएको पानी उपभोक्ताको घरमा पठाएका थिए । त्यसपछि मेयर साम्पाङ आफै स्थानीय उपभोक्ताको घरमा रहेको धारामा पानी आए, नआएको हेर्न पुगेका थिए ।

wada

चार दिनदेखि पानी नआएर समस्या भइरहेका शिवगंगा वस्तीका स्थानीय महिलाहरु धारामा पानी आएको भन्दै खुशी भएका थिए । उनीहरुले मेयर साम्पाङलाई धन्यवाद दिदै चैत, बैशाखमा पनि पानी नियमित आउने व्यवस्था गर्न आग्रह गरेका थिए । मेयर साम्पाङले अहिले चौबिसै घण्टा पानी आउने र चैत, बैशाखमा पनि केही समय कम गरेर भएपनि पानी वितरण गर्ने बताए ।

मेयर साम्पाङले अहिले भालुखोला इन्टेकबाट ल्याएको पानी सबै वितरण गर्न ट्रंकलाइनमा जोड्न खानेपानी व्यवस्थापन बोर्डका प्राविधिकहरुलाई निर्देशन दिएका छन् । फुल प्रेसरमा पानी पठाउदा पाइपले नथेग्ने भएकोले ट्रंकलाइनमा जोडेर वडा १५ को सबै क्षेत्र र अन्य वडामा पनि पानी पठाइने मेयर साम्पाङले बताए । 

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार परम्परागत विधिबाट नाप लिदा अहिले प्रतिसकेण्ड २५ लिटर पानी आइरहेको छ । यो पानीलाई मेन ट्रंकलाइनमा जोडेर अन्यत्र पनि पठाउदा धेरै राहत मिल्ने उनले बताए ।