धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आज मध्यराती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । 

निर्वाचन आयोगले यसअघि नै कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका गर्नको लागि समय तोकेको थियो । आज मध्यराती १२ बजेपछि मौन अवधि (स्थिर समय) शुरु हुनेछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ। मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। 

यो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी लगायत गतिविधिहरु गर्न पाइदैन । यो अवधिमा मतदान स्थलभन्दा तीन सय मिटर वरपर राखेका दल र उम्मेदवारका प्रचारप्रसारका सामग्री पूर्ण रूपमा हटाउनुपर्छ । यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न पाइदैन भने सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । साथै, लाइक वा सेयर गर्न पनि नपाइने निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलका वरपर भोज, जुलुस, बाजा बजाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ ।