धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजन अन्तर्गतको जग्गामा निर्माण भइरहेको स्मार्ट बसपार्कको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा प्रविधिकसहितको टोलीले अनुगमन गरेको छ ।

ठेकेदार कम्पनीले विभिन्न चरणमा सकिएको कामको भुक्तानीको लागी दाबी पेश गरेपछि अनुगमन समितिले स्थलगतरुपमा कामको अनुगमन गर्नुपर्ने हुन्छ । उपमहानगरपालिकामा उपमेयरको संयोजकत्वमा अनुगमन समिति रहेको छ । अनुगमन समितिमा रहेका वडाअध्यक्ष, कार्यपालिका सदस्यसहित ईञ्जिनियरको टोलीले बुधबार बेलुकी निर्माणाधिन बसपार्कको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा ठेकेदार बिकोई गिताञ्चली जेभीका प्रोजेक्ट मेनेजर धर्मेन्द यादवले डेढ बर्षको अवधिमा भौतिक संरचना निर्माणको काम ६० प्रतिशत सकिएको जानकारी दिए । तीन बर्षको अवधि भएको आयोजना दुईदेखि अढाई बर्षमा नै सकेर हस्तान्तरण गर्ने लक्ष्यको साथ काम भइरहेको पनि उनले बताए ।

buspark1

‘साइटक्लियरेन्स भएको छैन । एउटा घर बसपार्क परिसरमा नै छ, त्यहाँ सेफ्टी ट्यांकको डिजाइन् छ, र कम्पाउण्ड पनि त्यही पर्छ,’उनले भने,‘त्यसले गर्दा काम गर्न सकेका छैनौं । हाम्रो विल भुक्तानीमा पनि ढिलाई हुँदा समस्या भइरहेको छ । नगरपालिकाले सहजीकरण गर्ने हो भने दुई अढाई बर्षमा नै काम सकेर हस्तान्तरण गछौं ।’

उपमेयर बेघाले साइट क्लियरेन्सको लागि थप पहल गर्ने बताए । उनले ठेकेदारलाई गुणस्तरीय काम गर्न निर्देशन दिदै भुक्तानी केही ढिलो भएपनि नरोकिने बताए । वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठले साइट क्लियरेन्सको लागी घरधनीसँग पटक पटक छलफल भएको तर नमानेको जानकारी दिए । यो समस्या पनि चाडै हल गर्ने उपमहानगरपालिकाले जनाएको छ । 

भिडियो: