धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरान उत्सवको लागि अपुग बजेट आगामी नगरसभाबाट संशोधन हुने गरि विभिन्न कार्यक्रमबाट खर्च गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको कार्यपालिका बैठकले धरान डे (धरान उत्सव) मनाउने खर्च व्यवस्थापन सम्बन्धी एजेण्डामा यस्तो निर्णय गरेको हो । पर्यटन शाखाबाट पेश भएको कार्यक्रम स्वीकृत गरेर विनियोजन गरिएको बजेट अपुग भएकोले विभिन्न शिर्षकबाट खर्च गर्ने र पछि नगरसभामा पेश गरेर बजेट संशोधन गर्ने प्रस्तावलाई कार्यपालिका बैठकले स्वीकृत गरेको हो । 

karyapalika1

यसैगरि, विविध शिर्षकको एजेण्डामा बैठकमा उपमहानगरपालिकाले खरिद गरेको डोजर र रोलर वडाको विकास निर्माणमा र अन्य व्यक्ति वा संस्थाले प्रयोग गर्न चाहदा प्रतिघण्टा २२ सय शुल्क लिने प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्तावमा भने वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको एकमत हुन सकेन । कसैले न्युनतम शुल्क लिएर चलाउन पाउनुपर्ने भन्दै उक्त प्रस्तावको समर्थन गरे भने कसैले वडाको विकासमा प्रयोग हुदा तेल खर्चबाहेक निःशुल्क हुनुपर्ने अडान राखे । एक मत हुन नसकेपछि बैठकमा यो एजेण्डा अनिर्णित भएको थियो ।

यस्तै, बैठकले २ वटा ट्रिपर र २ वटा ट्याक्टर खरिद गर्ने निर्णय पनि गरेको छ । बैठकमा एउटा ट्रिपर र ट्याक्टर खरिद गर्ने प्रस्ताव गरिएको थियो । तर, वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले एउटाले नहुने भन्दै २ वटा खरिद गर्नुपर्ने सुझाव दिएका थिए । उनको सुझावमा सबैले समर्थन जनाएपछि बैठकले २ वटा टिपर र ट्याक्टर खरिद गर्ने निर्णय गरेको थियो । 

भिडियो: