धरान: बास्केटवल खेलको विकासमा सक्रिय रहेको हराईजन क्लबको तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
क्लबको अधिवेशनले श्रीभक्त राईलाई अध्यक्षमा सर्बसम्मत चुनेको हो । अधिवेशनले ११ सदस्यीय कार्यसमिति नै सर्वसम्मत चयन गरेको क्लबले जनाएको छ । कार्यसमितिको उपाध्यक्षमा पुष्पा राई र पञ्चकला राई चुनिएका छन् भने सचिवमा सुर्यकुमार सुनुवार, सहसचिवमा बिशाल राई र कोषाध्यक्षमा सुबिक्षा राई चुनिएकी छिन् । यस्तै, सदस्यहरुमा रिमला राई, रबिन राई, तिर्थ विश्वकर्मा, युबराज राई र रोशन राई पनि सर्वसम्मत चुनिएका छन् ।
धरान उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्ष मनोज भट्टराईको प्रमुख आतित्थ्यमा अधिबेशन सम्पन्न भएको थियो । वडा अध्यक्ष भट्टराईले धरानमा हराईजन क्लब र बास्केटबल खेल पर्याय शब्द भइसकेको धारणा व्यक्त गरेका थिए । अधिवेशनको लागि धरान १७ स्थित घोपा माविका सिनियर शिक्षक सुनिल यादव निर्वाचन आयुक्त रहेका थिए । उनको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन मण्डलले अधिवेशन सम्पन्न गरेको थियो ।
हराईजन क्लबका संस्थापक एवम पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राईले क्लब बि.स.२०६९ सालमा बिधिवत रुपमा स्थापना भएदेखि राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता लगायत बिभिन्न सामाजिक गतिबिधिहरुमा संलग्न रहेर कार्यहरु सम्पादन गर्दै आईरहेको भन्दै कार्यकालको शुभकामना व्यक्त गरेका थिए । क्लबका सल्लहकारद्वय मचिन्द्र राई र चन्द्र बहादुर मगरले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।