धरान: एक सातादेखि धरान वडा नं १७ स्थित विद्या टोल र कुमेलका स्थानीय हात्ती आतंकबाट पीडित छन् । उनीहरु रातभरि हात्तीको त्रासले सुत्न सकेका छैनन् । 

मंगलबार साँझ करिब ५ बजेदेखि हात्ती आएर रातभर सुत्न नसकेको स्थानीय जानुका राईले बताइन् । तीन वटा संख्यामा आएको हात्ती रातभर वस्ती वरिपरि रहेको र बिहान ५,६ बजेतिर मात्र जंगलतिर पसेको उनले बताइन् । उनका अनुसार एक सातादेखि हात्तीको त्रास बढेको छ । एक साताअघि ५,६ वटा हात्ती आएर वस्तीमा आतंक मच्चाएको थियो । पुनः मंगलबार साँझ पनि ३ वटा हात्ती आएको उनले बताइन् । हात्तीले विद्या टोलका अनिता विक र मनकुमार विकको घरमा क्षति पुर्याएको छ भने अन्य केहीको घरको बार भत्काइदिएको छ । यस्तै, कुमेलमा पनि एउटा घर क्षति पुगेको छ भने २ वटा कृषि फर्मको संरचनामा पनि केही क्षति भएको छ ।

hatti-atank1

बुधबार मेयर हर्क साम्पांग, वडा १७ का वडाअध्यक्ष मनोज भटट्राई, इलाका प्रशासनका प्रमुख चुडामणी भट्टराई, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपीहरु स्थलगत अनुगमनमा पुगेका थिए । त्यसक्रममा स्थानीयबासीले जनप्रतिनिधि र सरकारकोतर्फबाट सुरक्षा नपाएको भन्दै आक्रोश पोखेका थिए । स्थानीय सजता राईले हात्ती आउन थालेपछि रातभर बालबच्चा लिएर घर छोड्नुपरेको तर प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले चासो नलिएको भन्दै आक्रोश पोखिन् । मेयर, वडाअध्यक्ष र इलाका प्रशासन प्रमुखले सुरक्षा प्रबन्ध गर्ने र क्षति पुगेको परिवारलाई राज्यकोतर्फबाट राहत दिलाउन पहल गर्ने आश्वासन दिएका थिए । 

भिडियो:

गत पुष ८ गते बराहक्षेत्र नगरपालिका २ स्थित जंगलमा एउटा हात्ती मृत भेटिएको थियो । त्यसपछि, १५, २० वटा हात्तीको समुह वस्ती नजिक आउन थालेको थियो । हिजो मंगलबार बिहान बराहक्षेत्र ५ मा एक ६५ बर्षीय वृद्ध घाँस काट्न गएको बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय तह र प्रशासन मिलेर हात्तीलाई विभिन्न उपायबाट वस्तीबाट टाढा लैजाने प्रयास भइरहेको बताए । हात्तीलाई डाइभर्ट गरेर लैजानुबाहेक अन्य उपाय नभएको र केही हात्ती उदयपुरतिर लागिसकेको पनि उनले बताए । साथै मृतक परिवारलाई राज्यकोतर्फबाट १० लाख र क्षति पुगेको घरमा अधिकतम २० हजार राहत वन डिभिजनमार्फत दिइने पनि उनले बताए । 

hatti-antan

hatiko