धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा धरान आदर्श, डिपो स्कुल, धरान उच्च र होलिल्याण्ड स्कुल सेमीफाइनल प्रवेश गरेको छ । 

धरान मेघा हिमालयन कलेजको आयोजनामा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलमा बुधबार जित हासिल गर्दै धरान आर्दश, डिपो, धरान उच्च र होलिल्याण्ड सेमिफाइनल प्रवेश गरेको हो । धरान आर्दशले बालसंसार धनकुटालाई ३४–२८, डिपोले धरान उच्च ए टिमलाई लाई ५३–४७, होलिल्याण्डले सियोन स्कुललाई ३१–१९ र धरान उच्च विटिमले प्रभात स्कुललाई ४२–२२ अंकले पराजित गर्यो । 

पहिलो क्वाटर फाइनल खेलमा धरान आर्दशका सरिन मगरले व्यक्तिगत १६ अंक, दोस्रो खेलमा डिपो स्कुलका रुपक श्रेष्ठले २२, तेस्रो खेलमा होलिल्याण्ड स्कुलका सिक्कुम लिम्वुले ७ र चौथो खेलमा उच्च वि टिमका जुङसाङ राईले १८ अंक जोडेका थिए । फाइनल प्रवेशका लागि बिहिबार धरान आर्दश र डिपो स्कुल बीच हुनेछ भने अर्को सेमीफाइनल खेल धरान उच्च वि टिम र होलिल्याण्ड स्कुल बीच प्रतिस्पर्धा हुनेछ ।

भदौ २५ देखि शुरु भएको प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।

तस्विरः विकास चाम्लिङ राई