धरान: आन्दोलनको क्रममा राजिनामासमेत दिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुसँग राजनीतिक दलहरुले छलफल गरेका छन् ।

शिक्षक चिकित्सकहरुको आन्दोलनले उपचार सेवा र पठनपाठन प्रभावित भएपछि राजनीतिक दलहरुले आइतबार आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग छलफल गरेको हो । प्रतिष्ठानको समस्या हल गर्न राजनीतिक दलहरुले आन्दोलनरत पक्षको माग र धारणा बुझ्ने काम गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए । उनले भने,‘वीपीका डाक्टरहरुको आन्दोलनले जटिल समस्या उत्पन्न भएको छ । त्यसको समाधान गर्न हामी राजनीतिक दलहरु आन्दोलनरत पक्षसँग बस्यौं । समस्याको हल गर्न पदाधिकारीहरुसँग पनि बस्छौं ।’

bp doctor

उक्त छलफलमा कांग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेंग, माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जसपाका अध्यक्ष ताजुब लिम्बु, नेकपा एसका स्वर्णिमहांग फोम्बोलगायत सहभागी थिए । लामो समयदेखि बढुवा प्रक्रिया रोकिएर वृत्तिविकास नहुदा प्रतिष्ठानका चिकित्सकहरुमा निराशा छाएको छ । पछिल्लो २ बर्षमा ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छोडिसकेका छन् । आन्दोलनरत चिकित्सकहरुका अनुसार विगतमा ३ ३ महिनामा हुने बढुवा प्रक्रिया ७ बर्षदेखि रोकिएको छ ।

पछिल्लो समयमा बढुवा प्रक्रिया शुरु भएर ५० प्रतिशतको अन्र्तवार्ता पनि भइसकेको अवस्थामा कायममुकायम उपकुलपति प्रा.डा.प्रहलाद कार्कीले रोकेपछि शिक्षक चिकित्सकहरु आन्दोलित भएका थिए । प्रतिष्ठान व्यवस्थापनसँग भएको सहमति लागु नभएपछि १७७ जना शिक्षक चिकित्सकहरुले राजिनामा दिइसकेका छन् ।