धरान: १८ औ ललित अम्वर डिपो कपको सेमीफाइनलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल प्रवेश गरेको छ । 

आयोजक डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा मङ्गलबार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाई २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको हो । 

पहिलो खेलमा एक्वाका एनिस राई र निशान चौधरीले गोल गरे भने दिल्ली पब्लिकका सार्थक खवासले पेलाल्टी मार्फत सान्त्वना गोल गरेका थिए । उक्त खेलमा दिल्ली पब्लिकका सार्थक खवस म्यान अफ द म्याच घोषित भए । यस्तै, दोस्रो खेलमा लर्ड बुद्धका कृष चौधरी र सुशान्त भुजेलले १-१ गोल गरे । उक्त खेलमा बराह राइजिङका गोलकिपर साम्गेन तामाङ म्यान द म्याच घोषित भए ।

 यसैगरि दिलकुमार प्लेट च्याम्पियन तर्फ मङ्गलवार भएको खेलमा प्रभात स्कुलले माउन्ट हर्मनलाइ ४-० र विष्णु स्कुलले टाइबे्रकरमा समिट स्कुललाई ३-० गोल अन्तरले पराजित गर्यो । पहिलो खेलमा प्रभातका आशिष् राई एक्लैले चार गोल गरेका थिए । दोस्रो खेलमा टाइबेकरमा सक्षम थापा, दिवेश लिम्बू र रोनिलहाङ राईले गोल गरे ।

भोली बुधबारको पहिलो सेमिफाइनल खेल पुलिस स्कुल र एक्वा सेकन्डरी स्कुलबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल देउराली चिल्ड्रेन एकेडेमी र लोर्ड बुद्ध स्कुल बिच हुनेछ । हिमशिखर स्कुल तरहराले प्रतियोगिताको नियम भन्दा बाहिरको खेलाडी खेलाइएको पाए पछि नेपाल पुलिस स्कुलले सेमिफाइनल खेल्ने मौका पाएको छ । 

सोमबार नेपाल पुलिस र हिमशिखर बिचको खेल सकिए पछि हिमशिखर स्कुलले प्रतियोगिता नियम भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै पुलिस स्कुलले आयोजकलाई निबेदन दिएको थियो । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाएपछि हिमशिखर स्कुललाइ प्रतियोगिताबाट निलम्बन गर्दै नेपाल पुलिस स्कुललाई बिजयी घोषित गरिएको आयोजकले जनाएको छ । सोमबार नेपाल पुलिस स्कुल र हिमशिखर स्कुल बिच भएको खेलमा हिमशिखर स्कुल १-० गोल अन्तरले बिजयी भएको थियो ।