लन्डन: सडक दुर्घटनामा परी ज्यान गुमाएका २० बर्षीय विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले आर्थिक सहयोग गरेको छ ।
यूकेमा रहेका मनकारी दाताहरुसँग आर्थिक सहयोग जुटाएर समाजले मृतक परिवारलाई ३ हजार ३१० पाउण्ड सहयोग हस्तान्तरण गरेको समाजका अध्यक्ष निकेश लिम्बूले जानकारी दिए । यूकेको रिडिङमा समाजका अध्यक्ष लिम्बू र महासचिव वल्लभ गुरुङले मृतक युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।
मृतक तामाङको परिवार धरान निवासी हुन् । धरानबासी भएको नाताले पनि छोराको निधनले शोकमा परेको परिवारलाई आर्थिक सहयोग गरिएको अध्यक्ष लिम्बूले बताए । ‘मृतक परिवार धरानबासी भएको कारणले पनि सहयोग गरेका हौं, दाताहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ समाजका अध्यक्ष लिम्बूले भने,‘मानवताको हिसाबले सहयोग गरेका छौं । अफ्ठ्यारो र समस्या परेको बेला धरानबासी भनेर मात्र होइन, संस्थाले सबै नेपालीहरुलाई सहयोग गर्न तयार हुनेछ ।’
मृतक विद्यार्थी युविन तामाङको घर धरान ११ मा पर्छ । गत अक्टोवर ११ मा इष्ट लण्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारले ठक्कर दिदा युविनको मृत्यु भएको थियो । सडकमा हिडिरहेका युविनलाई गेट्सले चलाएको बिएमडब्ल्यु कारले ठक्कर दिदा गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार उनलाई तत्कालै अस्पताल पुर्याएको भएपनि उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो । उक्त दुर्घटना पछि र्यापर गेट्स फरार भएका थिए । तर, केही समयपछि प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।







