धरान: धरान वडा नं ६ स्थित पानवारीमा एतिहासिक ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ ।

पानवारी सय वर्ष पुगेको अवसरमा पारेर उक्त सतवार्षिकी महोत्सव हुन लागेको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारीस्थित सरस्वती मार्गमा हुनेछ । महोत्सव सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालय धरानको संयोजनमा गर्ने तयारी भइरहेको छ । 

आयोजक क्लवका अध्यक्ष एसपजंग रुम्दालीका अनुसार पानवारीको इतिहासलाई थप उजागर गर्न र चिनारी गराउन महोत्सवले सहयोग मिल्ने अपेक्षा छ । पानवारीमा बसोबास भएको आधारमा सय बर्ष पुगेको छ । ‘मानव बसोबास भएको सय बर्ष पुगेको छ, यो इतिहासलाई हामी सम्झँदैछौ, र अहिलेका नयाँ पुस्तालाई जानकारी पनि महोत्सवको मार्फतबाट गराउदैछौं,’ उनले भने ।

panbari-dharan 1

महोत्सवकै अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिवल प्रतियोगिता पनि आयोजना हुनेछ । क्लबले भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको विजयी टिमले नगद १ लाख र ३५ तोला चाँदीको रनिङ शिल्ड,  प्रमाण पत्र पाउनेछ भने उप विजेताले नगद ५० हजार, प्रमाण पत्र पाउने क्लबका महासचिव केदार वस्नेतले जानकारी दिए । 

उनका अनुसार महोत्सव अवधिमा रस्सी तान पनि हुनेछ भने रोटेपिङ, नाउ र ड्रागन जस्ता मनोरञ्जनका साधानहरु पनि रहनेछ । यस्तै, स्थानीय उत्पादन र सहुलियत बजार पनि राखिनेछ । दैनिकरुपमा साँझ राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती पनि हुनेछ भने कविता तथा नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली पनि हुनेछ । यस्तै, निः शुल्क स्वास्थ्य शिविर पनि आयोजना गर्ने क्बलको भनाई छ । 

पानमारा मन्सुली चामल ब्राण्ड

panbari dharan

बसोबासको आधारमा सय बर्ष पुगेको पानवारी विगतमा उर्बर कृषि क्षेत्र थियो । अहिले भने कृषि भुमि मासिदै गएर मानव बस्ती बढ्दै गएको छ । खेती गर्नेहरु भन्दा पनि जग्गा कारोबार र घर निर्माणको क्रम बढेको छ । यद्यपी, यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल ब्राण्ड बनेको छ । पछिल्लो समय पानवारी हुदै मदनभण्डारी राजमार्ग गएकोले पनि यो ठाउँमा सहरीकरण बढ्दो छ भने नापी र मालपोत कार्यालय पनि पानवारीमा नै स्थापना भइसकेको छ । 

पानवारी विगतमा पाँचकन्या गाविसमा पथ्र्यो । गाविस धरानमा गाभिएर उपमहानगरपालिका बनेपछि साविक गाविसको वडा नं १, २ र ३ लाई हाल वडा नम्बर ६ बनाइएको छ । यही वडा नं ६ मा पानवारी पनि पर्छ । यो वडा पूर्वमा मोरंङ जिल्लाको केरावारी गाउँपालिकासँग सिमाना जोडिएको छ ।

प्रदेश सांसद एवं साविक पाँचकन्या गाविसका पूर्व अध्यक्षसमेत रहेका रमेश कुमार वस्नेतले वि.सं १९७०–८० को दशकदेखि पानवारीमा बसोबास शुरु भएको अग्रज पुर्खाहरुबाट सुनेको बताउँछन् । ‘लिखित प्रमाण नभएपनि हाल धरान वडा ४ मा पर्ने हर्दिया, तेलनपुरका मगरहरु, चौबिसे क्षेत्र लगायत पुर्वी पहाडबाट झरेर बसोबास शुरु भएको अग्रजहरुको भनाई छ,’ उनले भने,‘ अग्रजहरुको कुरालाई मान्ने हो भने अहिले पानवारीमा मानव बसोबास शुरु भएको सय बर्ष पुगेको छ ।’