धरान: प्रदेश सरकारले विनियोजना गरेको रकमबाट धरानको खानेपानी समस्या न्युनीकरण गर्न तेस्रो डिप बोरिङको काम पनि शुरु भएको छ । 

धरान १७ स्थित उदय सामुदायिक वन क्षेत्रको कुम्भिअहालमा शनिबारदेखि तेस्रो डिप बोरिङको लागि ड्रिलिङ कार्य शुरु गरेको हो । गत आर्थिक बर्षमा सुनसरी १ (१) बाट निवार्चित प्रदेश सांसद रमेशकुमार बस्नेत, सुनसरी १ (२) बाट निवार्चित सांसद विजयकुमार राईको पहलमा प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोशी राजमार्ग चारकोशे जंगल क्षेत्रमा पहिलो र दोस्रो डिप बोरिङ सफल भइसकेको छ । नयाँ डिप बोरिङ शुरु भएको ठाउँमा शनिबार सांसदद्धय बस्नेत र राई निरीक्षणको लागि पुगेका थिए । बजेट फ्रिज नहुन नदिन सांसदद्धयले निरन्तर पहलकदमी गरिरहेका छन् । 

सांसद बस्नेतका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा विनियोजन गरिएको बजेटमध्ये तीन ठाउँमा डिप बोरिङ गर्न १ करोड ५२ लाखमा श्रीमन ड्रिलिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । ‘दुई ठाउँमा सफल भइसकेको छ, यो तेस्रो ठाउँमा काम शुरु भएको छ,’ सांसद बस्नेतले भने,‘धरानलाई खानेपानीमा राहत होस् भनेर प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।’

ramesh basnet

उनका अनुसार ३ वटा डिप बोरिङसँगै साविकको योजनामा जडान गर्न पनि पाइप खरिदको टेण्डर भइसकेको छ । विद्युतीय उपकरण जडान गर्न बजेट अपुग भएकोले चालु आर्थिक बर्ष २०८१/०८२ मा उक्त कार्यको लागि प्रदेश सरकारबाट थप ३ करोड ३० लाख बजेट विनियोजना गरिएको सांसद बस्नेतले जानकारी दिए । ‘यो हिउदमा धराने खानेपानी समस्याबाट राहत पाउनुपर्छ भनेर प्रदेश मन्त्रालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पहल गरिरहेका छौं,’ बस्नेतले भने,‘तीन वटा डिपबोरिङबाट प्रतिदिन ६० लाख लिटर पानी थपिन्छ भन्ने अपेक्षा छ ।’

मन्त्रालयबाट बजेट विनियोजना गरिएपनि कार्यान्वयनमा समस्या भएर फ्रिज हुने भएकोले आफुहरु निरन्तर खटिनुपरेको प्रदेश सांसद विजयकुमार राईले बताए । प्रदेशको बजेटले डिप बोरिङ गर्दा खानेपानीको स्रोत थपिने भएपनि पूर्णरुपमा धरानको समस्या हल नभएपनि तत्कालको लागि राहत मिल्ने उनले बताए । ‘बजेट फ्रिज होला कि भनेर हामी आफै खटिएका छौं । डिपबोरिङको लागि छुट्टिएको बजेट रातो किताबमा सम्पवेल भनेर आएछ । त्यसलाई फेरि डिपबोरिङ बनाउनै निक्कै प्रयत्न गर्नुपर्यो,’ उनले भने,‘अहिलेको बजेटमा पनि राम्रो बजेट परेको छ ।’

bijay rai

श्रीमन् ड्रिलिङका साइट इञ्चार्ज रामशरण खड्काले १५ देखि २० दिनमा ड्रिलिङको कार्य सकिने जानकारी दिए । जमिनमुनि २ सय मिटर तलसम्म ड्रिलिङ हुने उनको भनाई छ । पहिलो र दोस्रो डिपबोरिङको पनि ड्रिलिङमात्र गरेर राखिएको भन्दै उनले पछि एकैपटक कति पानी उत्पादन हुन्छ भनेर नापिने उनले बताए । 

भिडियो: