धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ ।
धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (वैरागी काइला)ले गरेका थिए । चुम्लुम हिममा औपचारिक कार्यक्रम शुरु हुनुअघि वृहत र्याली निकालिएको थियो । मौलिक पहिरनमा सजिएका सम्बाहाङ्फेहरुको लस्कर र केलाङको धुन करिब डेढ घण्टा धरानको विभिन्न चोकहरु गुञ्जायमान भएको थियो । र्याली भानुचोक, छाताचोक, माछाभौडी, शिक्षा सदन स्कुल, बुढासुब्बा चोक हुदै पुनः चुम्लुङ हिममा पुगेको थियो ।
सम्बाहाङ्फे उत्थान संघको अध्यक्ष शेरमान सम्बाहाङ्लेका अनुसार विगतमा काठमाण्डौंमा बसोबास गर्ने सम्बाहाङ्फेहरुले सरसहयोग गर्ने उद्देश्लये सम्बाहाङ्फे कल्याण कोषको नाममा संस्था शुरुवात भएको थियो । २०५५ मा पाथचरमा पहिलो महाधिवेशन गरेर उत्थान संघ नामकरण भएर व्यापकता दिइएको पनि उनले बताए ।
२०६१ मा दोस्रो महाधिवेशन धरानमा भएको र २०६९ मा तेहथ्रुममा तेस्रो महाधिवेशन भएको पनि उनले जानकारी दिए । जहाँ बसोबास गर्ने भएपनि सम्बाहाङ्फेहरु एक हौं, दाजुभाई नै हौं भन्ने उद्देश्यले वंशावली पनि प्रकाशन गरिएको उनले बताए ।
संघको कोषाध्यक्ष भिम सम्बाहाङ्फेले खुला सत्रमा विमोचन कार्यक्रमपछि बन्द सत्र हुने र नयाँ नेतृत्व पनि चयन हुने बताए । तेह्रथुम र पाँचथर उद्गम थलो भएका सम्बाहाङ्फेहरु विभिन्न जिल्लामा र विदेशमा पनि पुगेका छन् ।
कार्यक्रममा संस्थालाई जग्गा प्रदान गर्ने तथा आर्थिक सहयोग गर्ने दाता, वंशावली प्रकाशनमा सहयोग गर्ने दाता, पिएचडी उपाधि पाउने सम्बाहाङ्फे, डाक्टर, इञ्जिनियरलगायत विभिन्न क्षेत्रमा अब्बल सम्बाहाङ्फे व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
‘वंशावली लेख्नु कठिन छ तर गौरवपुर्ण हुन्छ’
महाधिवेशको उद्घाटन तथा वंशावलीको विमाचनपछि प्रमुख अतिथि वैरागी काइलाले मन्तव्य व्यक्त गर्दै वंशावली प्रकाशन जस्तो गाह्रो र कठिन कार्य गरेको भन्दै प्रशंसा गरे । इतिहास खोज्न कठिन भएको हुनाले नै कार्य सम्पन्न भएपछि गौरव मानिने उनले बताए । ‘वंशावली लेखन कठिन काम हो, इतिहा खोज्दा यस्तो कुराहरु धेरै कठिनाई पर्ने हुनाले नै गौरवको कुरा ठान्छौं,’ उनले भने,‘लेखेर राखेपछि इतिहास बन्छ, हराउदैन ।’
बोल्दा, उच्चारण गर्दा अर्को भएपनि लेखेर राखेपछि एकरुपता हुने उनले बताए । ‘एउटा लेखेपछि अर्को हुदैन, एउटै हुन्छ । एकरुपता हुन्छ, र त्यो इतिहास प्रमाणित हुन्छ,’उनले भने । साहित्यकार नेम्बाङ (बैरागी काइला)ले मानिसले गर्दा पृथ्वी सुन्दर भएको र ती मान्छेहरुभित्र सम्बाहाङफेहरु पनि भएकोले पृथ्वीलाई सुन्दर बनाउन उनीहरुको पनि योगदान रहेको धारणा राखे । ‘हामीले सबैको भलो चिनाउनु पर्यो, राम्रो चिताउनुपर्यो,’उनले भने ।
यो वंशावलीमा सम्बाहाङफे कुल वंशभित्रको योग्य मानिसहरुको तथा मानव संशाधनको जानकारी राखिएको भन्दै उनउले प्रशंसा गरे । ‘एउटै गाउँमा २ वटा पालिकामा ३९ जना पोष्ट ग्राजुएट रहेछन् । डाक्टर, इञ्जिनियर पनि छन्, हिमाल सगरमाथा चढ्ने चेली पनि छन् । कुन गाउँमा कुन बिषयमा कति पोष्टग्रयाजुट छन्, पिएचडी छन् भन्ने छ,’ उनले भने,‘मानव संशाधन आवश्यकता पर्यो भने पाउनसक्ने भयौं ।’
उनले मुन्धुम लिम्बुहरुको साँस्कृतिक र सामाजिक इतिहास भएको पनि बताए । ‘लिम्बुको जीवनलाई व्यवस्थित गर्नको लागि मुन्धुममा अनेक किसिमका वर्णन छ, त्यस अनुसार पालाना गर्दै आइरुहेका छौं,’उनले भने ।
भाषालाई प्रेम र प्रयोग पनि गरौं: डा.सुब्बा
कार्यक्रमका शिविष्ट अतिथि एवं तत्कालिन प्रदेश नं १ का पुर्वप्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बाले सम्बाहाङ्फे उत्थान संघ, किरात याक्थुङ चुम्लुङ जस्ता संस्थाको पहिलो अभिभारा भाषा, साहित्य र सँस्कृतिको विकास गर्नु भएको बताए । उनले भाषालाई पुस्तान्तरण गर्नुपर्ने धारणा राख्दै भाषालाई प्रेम गर्न र आफ्नो घरभित्र प्रयोग गर्न पनि आग्रह गरे ।
‘अरु कुनै जाति आएर विकास गरिदिदैन, हामीले नै गर्नुपर्छ । घरमा छोराछोरीलाई लिम्बु भाषा बोल्न नसिकाए पुस्तान्तरण हुदैन, अर्को पुस्ताले बोल्दैन र क्रमिकरुपमा हराउदै जान्छ । हाम्रो भाषाप्रतिको प्रेम हुनुपर्छ, प्रयोग गर्नुपर्छ,’ उनले भने ।
उनले देशको शासन कर्मचारी, सेना, प्रहरी (नोकरशाही)ले चलाएकोले लिम्बु जातिका युवाहरुले पनि त्यता ध्यान दिनुपर्नेमा जोडदिए । ‘हामी विदेश जान मात्र ध्यान दिईरहेका छौं । अनि हाम्रो सिडिओ, डिएसपी भएन भनेर अन्य जातिलाई गाली गरेर मात्र हुदैन,’ प्रा.डा.सुब्बाले भने,‘प्रहरी, निजामति सेवामा कति छन् हाम्रो संख्या ? ब्रिटिश आर्मी, इण्डियन आर्मी मात्र भिड्न खोजेको हुदैन । यता पनि भिड्नुपर्छ ।’
वंशावलीले भावी पुस्तालाई दिशानिर्देश गर्छ: सयोजक सम्बाहाङ्फे
सम्बाहाङ्फेहरुको वंशावली करिब २३ बर्षको खोज, अनुसन्धान पछि शनिबार विमोचन भयो । वंशावली खोज, अनुसन्धान र प्रकाशनको लागि गठन भएको समितिको संयोजकको जिम्मेवारी डम्बरसिंह सम्बाहाङ्फेले २०५७ सालमा पाएका थिए । पछि अर्को कार्यदल पनि गठन भएको थियो, उनी त्यसको पनि संयोजक रहे ।
पुर्वराज्यमन्त्रीसमेत रहेका सम्हाबाङ्फेले वंशावली खोज, अनुसन्धान गर्न सहज नभएको बताउँछन् । लिम्बुहरुको इतिहास लिखित दस्तावेज नभएको र जनश्रुतीको आधारमा चलेकोले केही कुराहरु मिल्न नसकेको पनि उनले सुनाए । ‘लामो समयसम्म छलफल चलायौ, निरन्तर खोजी गर्यौ । लिखित दस्तावेजको अभाव र जनश्रुतीमा आधारित लिम्बुहरुको इतिहास भएकोले धेरै बिषयमा केही कुराहरु मिल्न सकेन,’उनले मन्तव्यको क्रममा सुनाए,‘यद्यपी वंशावली पुस्तक हाम्रो वंशजको निम्ति बलियो आधारशिला र वंशजलाई एकीकृत गर्ने उद्देश्यका साथ आएको छ ।’
वंशावलीले पुस्तालाई मिलान गरिएको र लामो समय विभाजित पुस्तालाई एकीकृत सुचीकृत गरिएको पनि जानकारी दिए । ‘यो वंशावलीले सम्बाहाङ्फेसँग सम्बन्धित ऐतिहासिक स्थलहरुलाई कोड गरिएको छ, र यसले दिशानिर्देशक के गरेको छ भने त्यस्ता एतिहासिक थलोहरुलाई संरक्षण गरेर भावी पुस्तालाई लिम्बु जाति, सम्बाहाङ्फेहरुको सन्दर्भमा दिशानिर्देश गरेको छ,’उनले थपे,‘विभाजन होइन, एकीकृत गर्न दिशानिर्देश गरेको छ । सद्भाव कसरी बढाएर लैजाने, केही कमजोरी कसरी सुधारेर लैजाने र हाम्रा पुर्खाहरु कुन अवस्थामा रहेका थिए ? राष्ट्रिय र स्थानीस्तरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएर सम्बाहाङ्फेहरुलाई पनि उल्लेख गरेका छौं ।’
मतभेदहरुलाई व्यवस्थापन गरे युवापुस्ता खुशी हुनेछन्:उपमेयर बेघा
धरान उपमपहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले तत्कालिन समयको राज्यव्यवस्थापले लिम्बुहरुको इतिहास च्यातेर, मेटेर पहिचान समाप्त पार्ने प्रयास गरेकोले अहिले थुप्रै प्रश्नहरु अनुत्तरित रहेको बताए । उनले बुद्धिजिवि, अग्रजहरुले विभिन्न मतभेद र तर्कहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दै त्यसो हुन सके युवापुस्ता खुशी भएर अघि बढ्ने पनि उनले बताए ।
‘हाम्रो इतिहास, दस्तावेज, सँस्कार, सँस्कृति लिपिवद्ध भइदिएको भए आज विभिन्न वहस, छलफलहलरु निस्कने थिएन होला, त्यो बेलाको शासकले लिपि मेटिदिए, सँस्कार, सँस्कृतिहरु मेट्ने प्रयत्न गरे, इतिहास नामेट गर्न खोजेको कारणले आज सम्भयता, सँस्कृति, धर्मको कुरा हुदा वहस हुने गरेको छ,’उनले भने, ‘अग्रज व्यक्तित्वहरुले भाषा, लिपि, सँस्कार, सँस्कृतिको तर्कहरु छन्, त्यसलाई व्यवस्थापन गरेर लिम्बुहरु एकतावद्ध भएर आफ्नाृे सँस्कार र सँस्कृतिप्रति गौरव मानेर अगाडि बढ्न पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । दिग्गज व्यक्तिहरुले पहल गरे युवा पुस्ता हर्षविभोर भएर अगाडि बढ्न तयार छौं ।’
भिडियो: