धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ ।
गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत सँस्करणबाट भने खेल सकिएकै राती गेट टिकटबाट उठेको रकम सार्वजनिक गरेर शान्त पार्ने गरेको छ । क्लबमा नयाँ नेतृत्व चयन भएर प्रतियोगिता आयोजना गरेपछि गत बर्षबाट यो चलन शुरुवात गरेको हो । आयोजकले यसपाली पनि उक्त कार्यलाई निरन्तरता दिएको छ ।
आज (शनिबार) भएको उद्घाटन खेलमा टिकटबाट ७१ हजार ५ सय आम्दानी भएको क्लबका महासचिव नविन राईले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् । उनका अनुसार प्रायः पहिलो खेलमा टिकटबाट यही अनुपातमा रकम संकलन हुने गरेको छ । 'पहिलो खेल प्रायः यस्तै हो, पोहोर पनि यही रेसियोमा रकम उठेको हो,' उनले भने ।
आयोजकका अनुसार क्वार्टरफाइनलका ४ खेलको टिकट दर एक सय रुपैया रहेको छ । सेमीफाइनलका २ खेलको टिकट दर २ सय तोकिएको छ भने फाइनल खेलको टिकट दर ३ सय रुपैया तोकिएको छ । सेमीफाइनल खेलसम्म विद्यार्थीहरुलाई टिकट दरमा ५० प्रतिशत छुट दिइएको छ भने ज्येष्ठ नागरिकहरुलाई प्रवेश निःशुल्क दिइएको महासचिव राईले बताए ।
आजको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्बाइजले नेपाल पुलिस क्लबलाई १-० ले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । आइतबार आयोजक धरान फुटबल क्लब र युकेएफसि भारतबीच खेल हुनेछ ।
भिडियोः