धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ ।
धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयको खेलमा पहिलो हाफको १८ औं मिनेटमा कर्साङका खेलाडी हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नयन प्रधानको प्रहार धरानका गोलकिपरले रोकेपनि रिबाउण्ड वललाई उनले जाली चुमाएका थिए ।

पहिलो हाफको ४४ औं मिनेटमा धरानका विनोद राईले गोल गर्दै खेल बराबरी बनाएका थिए । दोस्रो हाफमा दुवैतर्फबाट गोल गर्ने प्रयास गरेपनि सफल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा कर्साङका विशाल क्षेत्री, सदिस राई, सृजल राई, रुस्तम प्रधान, राज राउतको प्रहार गोलमा परिणत भएको थियो । धरानका पनि दोर्जे तामाङ, विवेक राई, सुनाम जिमी, कार्लोस राम र बाफोर गोल गर्न सफल भएका थिए । दुवै तर्फबाट पाँच प्रहार गोलमा परिणत भएपछि खेल सडन डेथमा पुगेको थियो ।

सडन डेथ प्रहारमा पनि धरानका प्रज्वल थापा र कर्साङका आकाश प्रधानको प्रहार गोल भएको थियो । निर्णायक प्रहारमा भने धरानका मनोज राई गोल गर्न चुके । उनको प्रहार आकाशिएको थियो भने कर्साङका हेमराज भुजेलले गोल गर्दै टिमलाई सेमीफाइनल पुर्याए । उनी खेलको म्यान अफ दि म्याच पनि घोषित हुदै नगद १० हजार, ट्रफी र रेडबुल हात पारे ।
पहिलो खेलमा नै पराजित भएपछि घरेलु मैदानमा उपाधि चुम्ने आयोजकको सपना फेरि एकपटक अधुरै रहेको छ। प्रतियोगितामा भोली सोमबारको खेल राजा क्लब इटहरी र भुटानको युटिसिएफसि भुटानबीच हुनेछ ।
भिडियो :









