धरान: उनी अधिकांश समय सफारी चलाइरहेका भेटिन्छन् । तर, जब स्कुल छुट्टी हुने समय हुन्छ, तुरुन्तै धरान १७ फोकल्याण्डस्थित दिपेन्द्र स्मृति आधारभुत स्कुल पुग्छन्, र विद्यार्थीहरुलाई संगीत सिकाउछन् । 

सफारी चालक २८ बर्षीय अभिषेक घिमिरेलाई भेट्दा कसैले पनि सोच्न सक्दैन, उनीभित्र गायन प्रतिभा लुकेको छ । जीवनमा अनेकौं ठक्कर खादै धेरैतिर भौतारिएका अभिषेकको सपना गायक बन्नु हो । त्यही सपना पुरा गर्न उनी हरदम तल्लिन छन् । 

उदयपुरको चौदण्डी नगरपालिकामा २८ बर्षअघि जन्मिएका अभिषेकका बुबाआमा खेती गर्न भन्दै कोशीटप्पुमा जग्गा किने । उनी पनि आमाबुबासँगै टप्पुतिर बसाई झरे । आर्थिक अभावले कक्षा ८ पास गरेपनि पढ्न पाएनन्, र कमाउन भनेर घर छोडेर हिडे ।

घर छोडेपछि उनको जीवन अभाव र संघर्षमय रह्यो । जीवनमा अनेक ठक्कर खादै भौतारिरहे पनि उनले आफ्नो गीत संगीतप्रतिको मोहलाई भने त्याग्न सकेनन् । उनले ट्याक्टर चलाए, घरी ग्रिलमा काम गर्दै घरको छाना बनाउन हिडे । निर्माण मजदुरीको काम गर्न नवलपरासीतिर पनि पुगे । 

dependra school

उनी जही पुगेपनि गीन गुनगुनाउन भने छोडेनन् । जीवनमा जस्तै प्रतिकुल समयमा पनि गायनलाई माया मारेनन् । त्यसैको परिणाम हो, अहिले उनी गायन रियालिटी शो पुर्वाञ्चल आइडल इष्टर्न सिङ्गिङ सुपरस्टारको टप १० मा पर्न सफल भएका छन् । यसको फाइनल यही चैत २७ गते हुदैछ ।

अभिषेक दिपेन्द्र स्मृति आधारभुत विद्यालयमा पाले काम गर्छन् । कोशीटप्पुमा रहेको परिवारलाई खर्च पठाउन फुर्सदमा सफारी चलाउछन् । स्कुलका विद्यार्थीहरुलाई संगीत सिकाउनु उनको रुचि र नियमित कर्म हो । नाच्न पनि माहिर छन्, इच्छा हुने विद्यार्थीलाई अभिषेक डान्स पनि सिकाउछन् । 

दिउँसो सफारी चलाइरहेको बेला मुड चल्छ । उनी हतपत संगीतका गुरु विनोद प्रियदर्शी राईको अलंकार म्युजिक एकेडेमीमा छिर्छन् । उनलाई जुनसुकै बेला एकेडेमीमा प्रवेश गर्न रोकतोक छैन । 

बुबाआमा पनि गीत गाउथे, त्यसैको प्रभाव अभिषेकमा पर्यो । उनी रेडियोमा पनि गीत खुब सुन्थे । ‘१६ बर्षको उमेरमा गाइघाटमा शैलेन्द्र गुरुकोमा २, ३ महिना संगीत सिके तर आर्थिक र पारिवारिक कारणले नियमित गर्न पाइन,’ उनले भने, ‘धरान आएर विनायक सरगममा पनि सिके । अहिले विनोद प्रियदर्शी गुरुसँग जोडिएको छु ।’

abhisek ghimire

अहिले उनको आश्रयस्थल दिपेन्द्र स्कुल बनेको छ । उनी त्यही बस्छन् । स्कुलसँग सम्बन्ध जोडिएको प्रसंग पनि रोचक छ । उनी ग्रीलमा काम गर्ने क्रममा स्कुलको छाना बनाउन आएका थिए । कामको सिलसिलामा गीत गुन्गुनाइरहन्थे । स्कुलका तत्कालिन शिक्षक तथा गीतकार पर्वत सञ्जेलले उनको गायकी मन पराएर राम्रो छ भनेर हौसला दिए । 

‘उहाँसँग आत्मिय सम्बन्ध भयो । त्यसपछि म बाटोको काम गर्न नवलपरासी गएँ । त्यहाँ नाली बनाउने र ग्याबिङको काम गरे,’ अभिषेकले भने,‘त्यहाँबाट फर्केपछि पर्वत सरले नै यहाँ बस्ने वातावरण बनाइदिनुभयो । कोठाभाडा बस्ने पैसा पनि थिएन, यो मलाई ठुलो अवसर भयो ।’

आफु जुनै काम गरेपनि संगीतलाई माया मार्न नसकेको अभिषेक बताउँछन् । ‘जहाँ पुगेपनि, जस्तो काम गरेपनि म गाइरहन्थे, साथीहरुसँग पनि त्यही खालको महोल बन्थ्यो, रमाइलो हुन्थ्यो,’ उनले भने, ‘पछि गएर ठुलो गायक, कलाकार बन्न सके पनि वा नसकेपछि जुनसुकै ठाउँमा पुगेपनि संगीतलाई माया मार्न सक्दिन ।’ 

abhisek1

उनी बिहानै उठेर रियाज गर्छन् । दिउँसो सफारी चलाउन जान्छन् । स्कुल छुट्टी भएपछि विद्यार्थीलाई सिकाउन आइपुग्छन् । भाई बिरामी हुँदा उपचार गर्न लिएको ऋण तिर्नलाई घरको एक हल रागा बेचेका थिए । त्यो पैसा उनले ऋण नतिरी कमाउन भनेर सफारी किने । ‘रागा बेचेर ऋण तिरिन, सफारी किनेर चलाएपछि तिर्छु भन्ने आशा थियो, तर तिर्नसकेको छैन,’ उनले भने ।

अभिषेकको संघर्षपुर्ण जीवनमा अवसरहरु पनि आइरहेको छ, तर सँगै समस्या र चुनौतीहरु पनि उतिकै देखा परेको महशुस उनलाई भइरहेको छ । ‘तर पनि सम्झन्छु, यो मेरो जीवनको परीक्षा हो, जितेर अघि बढ्नुपर्छ भनेर चित्त बुझाउछुँ,’ उनले भने, ‘इष्टर्न सिंगिङमा हारजित जे भएपनि मेरो सांगीतिक यात्रा रोकिदैन, अघि बढीरहन्छ । जहाँ गएपनि, जस्तो परिस्थिति बनेपनि संगीतलाई माया मार्न सक्दिन ।’

भिडियो: