धरान: खेलकुदको सहरकोरुपमा परिचित धरानमा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको आइविए प्रो एण्ड एमेच्योर महिला पुरुष धरान फाइट नाइट आयोजना हुने भएको छ ।
धरान बक्सिङ नामको संस्थाले बुधबार धरान १२ गोर्खा होटलमा पत्रकार सम्मेलन गर्दे बैशाख १२ गते चुम्लुङ हिममा फाइट नाइट आयोजना गर्ने जानकारी दिएको हो । नेपालमा बक्सिङको एमेच्योर विधामा प्रतियोगिताहरु नियमितरुपमा आयोजना भइरहे पनि पहिलो पटक प्रो स्पर्धा हुन लागेको आयोजक संस्थाका अध्यक्ष दिपक राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार बक्सिङ खेलको विकास, प्रर्वद्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले संस्था धरान बक्सिङ स्थापना भएको हो । प्रतियोगितामा खेलाडीहरुले प्रो र एमेच्योर दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कोशी प्रदेशबाट प्रो स्पर्धामा धरान, धनुकटा, झापा र उदयपुर जिल्लाबाट खेलाडीहरुले भाग लिने अध्यक्ष राईले बताए । यस्तै, गण्डकी प्रदेशबाट पोखरा, वागमति प्रदेशबाट काठमाण्डौका खेलाडीहरु सहभागी हुनेछन् ।
एमेच्योर प्रतिस्पर्धातर्फ धरान, धनकुटा, उदयपुर र झापाबाट खेलाडीहरुले सहभागिता जनाउने आयोजकको भनाई छ । साथै, फाइट नाइटमा महिला र पुरुष राष्ट्रिय बक्सिङ खेलाडीको प्रर्दशन खेलसमेत हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रो फाइटतर्फका विजेता खेलाडीले नगद ३५ हजार, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २५ हजार र प्रमाणपत्र पाउने आयोजक संस्थाका सचिव महेश आले मगरले जानकारी दिए ।
एमेच्योरतर्फका विजेता खेलाडीले नगद ६ हजार, मेडल र प्रमाण, उपविजेताले नगगद ३ हजार, मेडल र प्रमाणपत्र पाउने सचिव मगरले बताए । साँझ ४ बजेदेखि शुरु हुने फाइट नाइटलाई भव्य बनाउन सांगीतिक कार्यक्रमहरु पनि हुने उनले बताए । प्रतियोगिताको अनुमानित बजेट १५ लाख रहेको छ । देश, विदेशका साथीभाई, खेलाडी, संघसंस्था तथा खेलप्रेमीहरुबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको पनि सचिव मगरले बताए ।
बक्सिङका प्रशिक्षक किसोर सम्बाहाम्फेले प्रो फाइटबारे जानकारी दिदै एमेच्योर भन्दा फरक विधा रहेको बताए । उनका अनुसार एमेच्योर स्पर्धामा पञ्च लागेपछि रेफ्रीले खेल रोक्छन्, तर प्रो स्पर्धामा भने खेलाडी नढलेसम्म वा रेफ्रीलाई खेलाडीले अब सक्दैन भन्ने लागेर फाइट नरोकेसम्म जारी रहन्छ । ‘त्यही भएर जुन खेलाडीले एकले अर्कोलाई च्यालेञ्ज गरेको हुन्छ, उनीहरुलाई कन्ट््राक पनि गराइएको हुन्छ,’उनले भने ।
प्रो स्पर्धामा कोशी प्रदेशका प्रो खेलाडीहरुसँग अन्य प्रदेश गण्डकी, बागमतीसँगै विभागीय टिमका प्रो खेलाडीहरुले च्यालेञ्ज स्वीकारेपछि भिडन्तमा उत्रने पनि आयोजक संस्थाका सचिव मगरले बताए । ‘हामीसँग यो यो तौलमा यी खेलाडीहरु छन्, तपाईहरुको खेलाडी भिड्न ल्याउनुस् भनेर च्यालेन्ज दिन्छौं, उहाँहरुले च्यालेञ्ज स्वीकारेपछि स्पर्धा हुन्छ,’ सचिव मगरले भने । प्रतियोगिताको एक दिनअघि बैशाख ११ गते स्पर्धामा उत्रने खेलाडीहरुसहित पुनः पत्रकार सम्मेलन गरिने पनि उनले बताए ।
भिडियो :