धरान: वंगलादेशमा हुन लागेको अन्तराष्ट्रिय योनेक्स सनराइज बंगलादेश च्यालेन्ज तथा सिरिज प्रतियोगिता २०२५ मा नेपालको ब्याडमिन्टन टिमको प्रमुख प्रशिक्षककोरुपमा धरानका प्रतिक श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल टिमको प्रमुख प्रशिक्षककोरुपमा श्रेष्ठसँगै अर्का प्रशिक्षक दार्चुलाका रमेश श्रेष्ठ र खेलाडीहरु हाल वंगलादेशमा पुगिसकेका छन् । योनेक्स कम्पनीले विभिन्न देशमा प्रायोजन गरेर यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानाडा, दक्षिण कोरिया, इरानलगायत १९ देशले भाग लिएको छ ।
वंगलादेश ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिता डिसेम्बर १६ देखि २६ सम्म हुनेछ । प्रतियोगिता ढाकाको पल्टनस्थित सहिद ताजुद्दिन अहमिद इन्डोर स्टेडियममा हुने प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी दिए । उनले फोन सम्पर्कमा भने,‘आज बिहान वंगलादेश आइपुगेका छौं । म अहिले नेपालको टिमसँगै छुँ ।’
प्रमुख प्रशिक्षक श्रेष्ठका अनुसार नेपालबाट राष्ट्रिय टिमका १२ खेलाडी र २ प्रशिक्षकसहित वंगलादेशमा पुगेका छन् । श्रेष्ठले विगतमा पनि प्रशिक्षककोरुपमा भारतको गुवाहटीमा नेपालबाट प्रतिनिधित्व गर्दे गएका थिए । त्यसबेला नेपाल टिम दोस्रो भएको थियो । श्रेष्ठ पुर्व राष्ट्रिय खेलाडी हुन् भने प्रशिक्षककोरुपमा कार्यरत छन् । साथै, उनी सुनसरी ब्याडमिन्टन संघको अध्यक्षकोरुपमा पनि हाल रहेका छन्।







