धरान: धरान १० के रन ८ औं नेवा च्यारिटी शनिबार(हिजो) भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम यति सफल भयो कि अतिथि वक्ताहरुले आयोजक र कार्यक्रमबारे खुलेरै प्रशंसा गरे ।

अझ धरानका मेयर तिलक राईले त आगामी बर्ष धरान १० के रनलाई यथोचित बजेट विनियोजन गर्ने आश्वासन मात्र दिएनन्, हरेक साता यलम्बर सामुदायिक वनअघिबाट हुने धरान रनलाई साप्ताहिकरुपमा २ हजार अनुदान दिने घोषणा समेत गरे । भानुचोकमा आयोजित पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मेयर राईले मेयरकोरुपमा आफुले गर्नसक्ने सहयोग धरान रनलाई हुने बताए ।

धरानलाई परिचय दिने कार्यक्रमकोरुपमा धरान रन आयोजना भइरहेको भन्दै मेयर राईले प्रशंसा पनि गरेका थिए । ‘अहिले धरान रनलाई न्युन बजेट छ, आउदो बर्ष यथोचित बजेट छुट्याउनुपर्छ । यसतर्फ म धरानका जनप्रतिनिधि ज्युहरुको ध्यानाकर्षण पनि गराउन चाहन्छु,’मेयर राईले भने,‘मेयरकोरुपमा के गर्न सक्छु, म गर्छु । हरेक हप्ता २ हजार रुपैया धरान रनलाई दिइनेछ । एक महिनामा ४ हप्ताको ८ हजार मात्र हुन्छ । धरान उपमहानगरले यति दिन सकिन्छ । यसले रनरहरुले पानी, खाजा, औषधीको सामग्रीमा खर्च गर्छन् ।’

dhhrn

मेयर राईले धरान रनसँग उपमहानगरपालिका जोडिनुपर्ने बताए । धरान रनको टिसर्ट र गेटहरुमा धरान उपमहानगरपालिका झल्किनुपर्ने मेयर राईको भनाई थियो । धरान रनका अध्यक्ष रमु राईले मेयरको घोषणा सकरात्मक भएको बताए । उनले त्यसबिषयमा टिममा छलफल पनि भएको र फ्लोअप गर्ने निर्णय गरिएको जानकारी दिए । ‘उहाँको घोषणा ज्यादै सकरात्मक छ, हामी फ्लोअप गछौं । मेयर ज्युले भनेअनुसार कार्यान्वयन हुनुपर्छ,’अध्यक्ष राईले भने ।

धरान रनले हरेक साता शनिबार बिहान धरान ८ स्थित यलम्बर वनबाट दौड आयोजना गर्ने गरेको छ । स्वास्थ्यको लागि दौड नारा दिएर अहिलेसम्म ४५७ हप्ता दौड भइसकेको छ । धरान रनले आफै र सहयोगीहरुबाट खर्च जुटाएर साप्ताहिक दौडको व्यवस्थापन गर्ने गरेको छ । धरान रनका संस्थापक सन्तोष राईले पनि बेलायतबाट सहयोग गर्ने गरेका छन् । उनकै परिकल्पना अनुसार धरान रनको शुरुवात भएको हो ।