धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौं र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच खेल हुदैछ ।

धरान १६ स्थित रंगशालामा दिउँसो ३ बजे अन्तिम क्वार्टरफाइनल खेलमा यी दुई क्लब मैदानमा आमने सामने हुनेछ । स्टार खेलाडीहरु भरिएको मछिन्द्र क्लबले एक साताअघि मात्र लिग जितेको थियो भने २ दिन अघि मात्र झापाको सताक्षीधाम गोल्डकप पनि जितेको थियो । मछिन्द्र क्लबलाई बुढासुब्बा गोल्डकपको पनि उपाधिको दाबेदार टोली मानिएको छ । पाहुना टोली सन डे क्लब गभनर्स क्लब खेल्ने टिम हो । यद्यपी, उक्त टोलीबारे त्यति जानकारी छैन ।

प्रतियोगितामा आज विजेता हुने टोलीले सेमीफाइनलमा नेपाल पुलिस क्लबसँग भिड्नेछ । नेपाल पुलिसले मेची नेत्रालय काकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउदै सेमीफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै, आयोजकलाई हराउदै युनाइटेड कर्साङ एफसि पनि सेमीफाइनल प्रवेश गरेको छ भने हिजो सोमबार बेलबारी फुटबल क्लबलाई हराउदै मनाङ मस्र्याङ्दी क्लब पनि सेमीफाइनल प्रवेश गरेको छ ।

विद्यार्थीलाई ५० मात्र शुल्क लाग्ने

budha-subba-trophy

बुढासुब्बा गोलडकपमा आज अन्तिम क्वार्टरफाइनल खेल हो । आजसम्म टिकट शुल्क सय रुपैया छ । तर, विद्यार्थीहरुलाई भने ५० रुपैया मात्र शुल्क लाग्ने आयोजक धरान फुटबल क्लबले घोषणा गरेको छ ।

स्कुलका विद्यार्थीहरु ड्रेसमा आएमा ५० रुपैयामा नै हेर्न पाउने आयोजको भनाई छ। क्लबका अनुसार आज क्वार्टरफाइनलसम्मको टिकट शुल्क सय रुपैया छ । भोली बुधबार र पर्सि बिहिबारको सेमीफाइनलको टिकट दर २ सय हुनेछ भने फाइनलमा ३ सय हुनेछ । विद्यार्थीहरुले सेमीफाइनलका २ खेल पनि ५० रुपैयामा हेर्न पाउनेछन् । तर, फाइनलमा भने उनीहरुले छुट पाउने छैनन् ।