धरान: नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत शिल्पकला विभागको आयोजनामा धरानमा दुई दिने थाङ्का/पौभा चित्रकला प्रर्दशनी धरानमा भइरहेको छ ।

शिल्पकला यात्रा नाम दिइएको प्रर्दशनी धरान १८, बुद्धचोकस्थित विमल स्मृति पुस्तकालयको हलमा भइरहेको छ । हिजो बिहिबारदेखि शुरु भएको चित्रकला प्रर्दशनी आज शुक्रबारसम्म हुनेछ । प्रर्दशनीको एक समारोहबीच धरानका मेयर तिलक राईले उद्घाटन गरेका थिए । शिल्पकला यात्रा २ नंम्बर प्रदेशको जनकपुरधाममा २ दिने प्रर्दशनी गरेर प्रदेश नं १ मा आइपुगेको हो । प्रर्दशनीमा ३७ वटा चित्रहरु राखिएको छ । ती चित्रहरु ६ जना दिवंगत कलाकारहरुसहित ३० जना कलाकारहरुले बनाएको परम्परागत शिल्पकला विभागका प्राज्ञ बुद्धिबहादुर गुरुङले जानकारी दिए ।

प्रर्दशनीको उद्घाटन अवसरमा धरानका मेयर राईले नेपालीहरुको परम्परागत शिल्पकला, सँस्कार, सँस्कृति एकदमै धनी भएर पनि गुणस्तरीय विकास गर्न नसकेको धारणा व्यक्त गरे । चित्रकला सभ्यताको परिचय गराउने माध्यम भएको धारणा राख्दै उनले पर्यटन तथा आर्थिक आम्दानीको आधार पनि हुने बताए । ‘विदेशीहरु नेपालीको कला, सँस्कृति, सभ्यता हेर्न नै नेपाल आउने हुन्,’उनले भने ।

painting4

प्रा.डा.भिम खतिवडाले कलालाई उन्नत चेतनाकोरुप भएको उल्लेख गर्दै नेपाली सँस्कृतिलाई डाङडुङे सँस्कृतिले खाएको भन्दै चिन्ता व्यक्त गरे । नेपाली समाज पैसाले धनी भएपनि चेतनाले गरिब भएका टिप्पणी गर्दै उनले परम्परागत शिल्पकलाको प्रशिक्षण दिन पनि आग्रह गरेका थिए । कलाकार पुर्णप्रसाद हेजुले शिल्पकला यात्राले राजधानीमा भएका र मोफसलका कलाकारहरुबीच अन्र्तक्रिया तथा जोड्ने काम भइरहेको भन्दै खुशी व्यक्त गरेका थिए भने धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले धरानमा प्रर्दशनी आयोजनाप्रति खुशी व्यक्त गरे । धरान युवा क्लबका अध्यक्ष युमेनहाङ राईले धरानमा महत्वपुर्ण कार्यक्रम भएको बताए । युवाहरु विभिन्न कारणले अल्मलिइरहेको बेला अग्रज कलाकारहरु आएर जोश थपिदिएको उनको भनाई थियो ।

painting

शिल्पकला विभागका प्राज्ञ बुद्धिबहादुर गुरुङका अनुसार धर्मशास्त्र दर्शनको ज्ञानको आधारमा हिन्दु दर्शन, बुद्ध दर्शनका देवदेवीहरु र परम्परागत विभिन्न डिजाइनका बुट्टाहरु अंकित कला नै पौभा/थाङ्का कला हो । शास्त्रीय किसिमको यो कला बिशेष गरी उपत्यका, पहाडी र हिमाली क्षेत्रमा छ । यो कलालाई तराई क्षेत्रसँग जोड्न पनि शिल्पकला यात्रा अभियान शुरु गरिएको गुरुङले बताए । पश्चिमी कलाको प्रभाव बढ्दै गएकोले नेपाली परम्परागत कलाबारे बुझाउन पनि अभियान थालिएको उनले बताए ।

painting1 painting6