धरान: धरानका एक व्यक्ति चार दिन अघि दुबईबाट आएर घरमै बसिरहेका थिए । उनका छरछिमेकीले उनलाई अस्पताल जान सुझाव दिए ।

सबैको सुझाव पछि उनी आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्थ डेस्कमा गए । डेस्कमा चिकित्सकहरुले आवश्यक जाँच गर्दा उनलाई कोरोना(कोभिड १९)को कुनै लक्षण नदेखिएपछि चिकित्सकहरुले घरमै क्वारेन्टाइनमा रहने गरि पठाए । अब उनी १४ दिनसम्म आफ्नै घरभित्र क्वारेन्टाइनमा बस्नुपर्ने ती व्यक्तिलाई आवश्यक जाँच गरेका प्रतिष्ठानका अस्पतल सहायक निर्देशक डा.विकास साहले जानकारी दिए । ‘उहाँ दाईसँग आउनु भएको थियो । ज्वरो, रुघाखोकी पनि थिएन, चार दिनअघि दुबईबाट आएकोले मात्र अस्पताल आउनु भएको थियो,’डा.साहले भने,‘थप उपचार चाहिने खालको केही लक्षण नभएकोले घरमै क्वारेन्टाइनमा बस्न भनेर पठायौं ।’

डा.साहका अनुसार ती व्यक्तिलााई क्वारेन्टाइनमा रहदाको आवश्यक सुझावहरुसहित घर पठाइएको छ । घरमा क्वारेन्टाइनमा रहदा ट्वाइलेट अलग्गै प्रयोग गर्ने र त्यसो गर्न सम्भव नभए ट्वाइलेट प्रयोग गरिसकेपछि फिनेल लगाएर राम्रोसँग सफा गर्नुपर्ने डा.साहले बताए । यस्तै, बेडरुम पनि आफु मात्र रहने हुनुपर्ने, खाना खादा सकेसम्म कागजको प्लेट प्रयोग गर्ने र १४ दिनपछि जलाइदिनुपर्ने पनि उनको सुझाव छ । ‘घरमा क्वारेन्टाइनमा बस्दा यति कुरामा ध्यान दिनैपर्छ,’डा.साहले भने,‘उहाँलाई लक्षण केही पनि देखिएको होइन, तर विदेशबाट आएकोले गर्दा मात्र क्वारेन्टाइनमा बस्न भनेका हौं ।’