धरान: विदेशबाट आएपनि होम क्वारेन्टाइनमा बस्ने सर्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर पठाइएका धरान १६ का ३ जना युवाहरुले सर्त पालना नगरी बाहिर घुमफिर गरिरहेको पाइएको छ ।

तीन युवाहरु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने भएपनि उनीहरु बाहिर खुलारुपमा हिडडुल गरिरहेको पाइएको छ । यो कुरा बाहिर आएपछि अहिले स्थानीयबासीहरुसँगै जनप्रतिनिधिहरु पनि चिन्तित छन् । ती तीन जनामध्ये एक जना कोरोना संक्रमण पुष्टि भएकी युवतीसँगै फ्लाइटमा आएको बताइएको छ । तर, उनी एउटै फ्लाइटमा आए नभएको पुष्टि हुन बाँकी छ ।

वडा नम्बर १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार एक जना कतारबाट ७ दिन अघि घर आएका हुन् भने अर्का दुबईबाट ६ दिनअघि र अर्का एक जना कोरियाबाट ३ दिनअघि घर आएका हुन् । तिनै जनालाई होम क्वारेन्टाइनमा रहने गरि विमानस्थलबाट घर पठाइएको हो । ‘होम क्वारेन्टाइनमा बस्नुपर्ने हो, तर ३ जना नै बसेको रहेनछ । त्यसैले हामी चिन्तत भएका हौं,’वडाअध्यक्ष गिरीले भने,‘तिनै जनालाई वीपी वा क्वारेन्टाइन पठाउने तयारी भइरहेको छ ।’ धरानको वडा नं ६ मा पनि एक जना विदेशबाट आएको जानकारी आएपछि उपमहानगरपालिकाले वीपी प्रतिष्ठान ल्याउन एम्बुलेन्स पठाएको छ ।