धरान: कोरोना संक्रमण देखिएकी युवती चढेकै जहाजमा नेपाल आएकी एक महिला धरानमा सम्पर्कमा आएका छन् ।

आफ्नै घरमा बसिरहेकी उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । तथापी, थ्रोट स्वाब लिएर आवश्यक चिकित्सकीय परामर्श लिनको लागि अहिले उपमहानगरपालिकाको आग्रहमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ । ती महिला युकेबाट आएकी हुन् । तर, उनी कतार ट्रान्जिट हुदै नेपाल आउने क्रममा केही दिनअघि संक्रमण पुष्टि भएकी युवती चढेकै फ्लाइटमा आएकी थिइन् ।

धरानमा मेयर तिलक राईले महिला हिजोदेखि सम्पर्कमा रहेको र स्वास्थ्यमा कुनै समस्या नदेखिएकोले चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । तथापी, परीक्षणको लागि स्वाब लिन वीपी प्रतिष्ठान लगिने उनले बताए । ‘उहाँ स्वास्थ्य नै हुनुहुन्छ, र पनि स्वाब परीक्षणको लागि वीपी लैजान्छौं,’मेयर राईले भने,‘डाक्टरले के सल्लाह दिनुहुन्छ, त्यही अनुसार गछौं ।’

ती महिला कतार ट्रान्जिटबाट संक्रमित युवतीसँगै आएको भन्ने थाह पाएपछि स्थानीयहरु डराइरहेका छन् । छिमेकीका अनुसार महिला घरबाहिर ननिस्किए पनि उनलाई भेट्न थुप्रै गएका थिए । केही दिनअघि ती महिलाको जन्मदिन घरमा मनाइएको थियो । ‘अहिलेसम्म राम्रै हुनुहन्छ, उहाँलाई संक्रमण नदेखियोस् भन्ने कामना गर्छु,’एक छिमेकीले भने,‘पोजेटिभ देखियो भने त यहाँ धेरैलाई नै संक्रमण हुन्छ, त्यसैले डराइरहेका छौं । उहाँको सम्पर्कमा को को थिए भनेर खोजी पनि गरिरहेका छौं ।’