विराटनगर: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन प्रदेश नम्बर १ मा थप ८ सय आइसोलेसन बेड तयार गरिने भएको छ ।

संक्रमण फैलन सक्ने जोखिम भएकोले पुर्वतयारी स्वरुप प्रदेश सरकारले यस्तो तयारी गरेको हो । सामाजिक विकास मन्त्रालयमा बिहिबार छलफल पछि विभिन्न अस्पतालमा आइसोलेसन वेड तयार गर्न सर्कुलर जारी गरिएको छ । प्रदेशमा कुल २३२ बेडको आइसोलेसन तयार छ । नेपालमा तेस्रो व्यक्ति पनि संक्रमित भेटिएपछि प्रदेशले आइसोलेसन वेडको संख्या बढाउने तयारी गरिएको सामाजिक विकास मन्त्री जिवन घिमिरले बताए । उनका अनुसार प्रदेशमा हजार वेड आइसोलेसन तयार गरिनेछ । सोही अनुसार बिहिबार विभिन्न अस्पतालहरुमा सर्कुलर पनि जारी गरिएको मन्त्री घिमिरले बताए ।

मन्त्रालयका अनुसार नोबेल मेडिकल कलेजमा २००, विराट मेडिकल कलेजमा १००, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोशी अस्पतालमा १००, मेची अस्पतालमा ५० र बि एण्ड सी अस्पतालमा १५० बेड तयार गर्न निर्देशन दिइएको छ । संकटको समयमा निजी वा सरकारी अस्पताल नभनी सबै संकटको सामना गर्न होमिनुपर्ने पनि मन्त्री घिमिरेको भनाई थियो । प्रदेश १ मा विभिन्न स्थानमा १३ सय ३१ बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

 प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले मन्त्रालयले ८ सय आइसोलेसन बेड थप गर्ने निर्णय अनुसार सम्बन्धित अस्पतालहरुमा परिपत्र पठाइएको बताए । उनका अनुसार नयाँ बेड तयारी गर्ने नभै अहिले भएकै वेडहरुलाई आइसोलेसन बेडमा परिणत गर्ने हो । ‘नयाँ बनाउने भनेको होइन, अहिले भएका बेडहरुलाई आइसोलेसनमा परिणत गर्ने भनिएको हो,’उनले भने ।