धरान: सर्दु खोला किनारका बस्तीबासीहरुले सर्दु करिडोर परियोजना कार्यान्वयन गर्दा उठिबास नगराउन माग गरेका छन् ।

सर्दु करिडोरले घरबार विहिन बनाउने आशंकामा उनीहरुले सर्दु करिडोर सरोकार तथा बस्ती संरक्षण संघर्ष समिति नै गठन गरेका छन् । करिडोर हुने धरानको वडा नं १७, १३, ११ र १६ का स्थानीयहरुले समितिमार्फत आइतबार धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै उठिबास हुने गरी तय गरिएको मापदण्ड परिमार्जन गर्न पनि आग्रह गरेका छन् । संघर्ष समितिका संयोजक नरध्वज तामाङले आफुहरुको माग सम्बोधन गरेर मात्र करिडोर निर्माण कार्य अघि बढाउन आग्रह गर्दै जर्बजस्ती गरिए आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

संघर्ष समितिले करिडोरको रेखांकन गर्दा हालको खोला वहाव क्षेत्रलाई खोलाको मापदण्ड मानेर रेखांकन गर्नुपर्ने माग गरेको छ । यस्तै, खोलाको ८२ मिटरको मापदण्ड खारेज गरी वैज्ञानिक मापदण्ड निर्धारण गर्न पनि संघर्ष समितिको माग छ । यसैगरि, करिडोरको प्रस्तावित मापदण्ड ३० मिटर खारेज गरेर वैज्ञानिकढंगले १५ मिटर कायम गर्न पनि संघर्ष समितिको माग छ ।

समितिको तेस्रो बुँदाको मागमा करिडोर निर्माण गर्दा कुनै पनि सुकुम्बासी घर परिवारको उठिबास नगर्न र विकल्पसहित उचित व्यवस्था गर्नुपर्ने उल्लेख छ । ‘मापदण्ड कायम गर्दा स्थानीय सरोकारवाला वस्तीवासी प्रतिनिधिहरुको सहभागिता तथा सहमतिमा मात्र गरियोस्,’संयोजक तामाङले भने ।

दीर्घकालिनरुपमा वस्ती संरक्षण गर्ने योजना: मेयर

sardu-xalfal1

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सर्दु करिडोर परियोजना खोला किनारमा बसेको वस्तीलाई दीर्घकालीनरुपमा संरक्षण गर्ने उद्देश्यले आएको बताएका छन् । उनले संघर्ष समितिसँग छलफल गर्दै वस्तीलाई जोगाउने र विकास पनि गर्ने अवधारणा भएको बताए ।

करिडोर निर्माण भएपछि धरानको प्रमुख बजार क्षेत्र जतिकै सर्दु करिडोर क्षेत्र मानिसहरुको आकर्षकस्थल हुने उनले बताए । ‘अहिले लकडाउनमा पनि मान्छे खोला खोला हिडिरहेका छन्, घुमिरहेका छन् । सर्दु करिडोर बनेपछि यो क्षेत्र प्रमुख पर्यटकीय आकर्षण बन्छ,’मेयर राईले भने, ‘करिडोरको मुखतिर पर्ने जग्गा ऐलानी, पर्ति नै भएपनि पुर्जा पाए सरह हुन्छ । तपाईहरुलाई खोलाले पनि लैजादैन, र अरु कसैले पनि उठिबास गर्दैन ।’ मेयर राईले अहिले उठिबास गर्ला की भन्ने चिन्तामा भएकाहरु करिडोर निर्माण पछि ढुक्क भएर बस्ने अवस्था सृर्जना हुने बताए ।

मेयर राईका अनुसार वडा नं २० तर्फ खोला किनारमा पनि करिडोर बन्ने प्रष्ट पारेका थिए । उनले करिडोरमा कति घर पर्छ भन्ने प्रष्ट नभएपनि स्थानीयबासीबाट नै समाधानको उपाय देखाएको पनि उनले बताए । ‘कसैले २ कट्ठा, कसैले ३ कट्ठा जग्गा ओगटेको छ । त्यसलाई ८, १० धुरको हिसाबले मिलाउने हो भने समाधान हुन्छ भनेर पनि भनिरहनु भएको छ,’उनले भने,‘अब संघर्ष गर्ने कुरा मात्र होइन, आयोजना के हो भनेर प्रष्ट हुनुपर्छ, र अरुलाई पनि बुझाउनुपर्छ । मापदण्डबारे नआत्तिनुस्, माथि खोला सानो छ, तलतिर फराकिलो छ । भुगोल अनुसार मापदण्ड फरक हुन्छ । केही समस्या आयो भने छलफल गर्नुपर्छ ।’

कहिलेसम्म तारजालीको भरमा बस्ने ?: उपमेयर

sardko-xalfal

उपमेयर मञ्जु भण्डारी सुवेदीले सर्दु करिडोर नगरको मात्र नभै प्रदेशकै गौरवपुर्ण योजना भएको बताइन् । उनले बषौंदेखि तारजालीको भरमा वस्तीको सुरक्षा गरिएको र बर्षामा सधै त्रसित भएर बस्नुपर्ने अवस्था भएकोले त्यसबाट मुक्ति दिलाउनकै लागि सर्दु करिडोर योजना ल्याएको बताइन् । ‘पञ्चायतकालदेखि अहिलेसम्म तारजालीको भरमा वस्ती छ, त्यसमा करोडौं खर्च भएको छ, तर सधै त्रसित हुनुपर्छ,’उनले भनिन्,‘त्यसैले बस्तीलाई सुरक्षित बनाउन र रिङ रोडको पनि अवधारणामा करिडोर परियोजना आएको हो ।’

यो परियोजना वस्तीकै सुरक्षाको लागि भएको भन्दै उनले खोलाको मापदण्डबारे चिन्तित नहुन पनि आग्रह गरिन् । खोलाको ८२ मिटर मापदण्ड भनिएको भएपनि वडा नं १३ देखि १७ नम्बर सम्म खोला एकै नाशको नभएकोले मापपदण्ड पनि एकैनाशको नहुने उनले प्रष्ट पारिन् । ‘यो इञ्जिनियरीङको भाषा हो । १७ नम्बर वडामा ८२ मिटर उपयुक्त होला, तर १३ नम्बर वडामा त खोलाको भाग नै ८२ मिटर पुग्दैन,’उनले भनिन्,‘वस्ती उजाड बनाउने चाहना होइन, सुरक्षित बनाउनकै लागि यो आयोजना परिकल्पना गरिएको हो । जनता र उपमहानगरपालिका मिल्यौं भने सम्भव छ ।’ उनले १ कट्ठा, २ कट्ठा जग्गा ओगटेर बसेकाहरुले आफुसँगै छिमेकीहरु पनि बस्न पाउनुपर्छ भन्ने भावना गरे समस्या समाधान हुने बताइन् ।

sarduko-samite

sarduko-samitee1