धरान: नगर सभाअघि रस्साकस्सी परेको वडागत बजेट सिलिङलाई बाँडफाड गरेर धरान उपमहानगरपालिकाले २० वटै वडा कार्यालयमा बजेट पठाएको छ ।
नगरसभामा वडागत बजेटतर्फ २२ करोड बजेटको सिलिङ प्रस्ताव गरिएको छ । नगरसभा अघि असार ९ र १० गते कार्यापालिका बैठकमा वडाको सिलिङ बजेटमा व्यापक छलफल र रस्साकस्सी भएको थियो । असार ९ गतेको कार्यपालिका बैठक र १० गतेको बैठकमा वडाको सिलिङ बजेटलाई बाँडफाड गर्ने सुत्रको बिषयमा पनि वडाअध्यक्षहरुबीचमा नै मतभेद भएको थियो । निक्कै रस्साकस्सी पछि १० गतेको नगरसभाअघि कार्यपालिका बैठकमा सहमति जुटेपछि दिउँसो नीति तथा कार्यक्रम र बजेट प्रस्ततु भएको थियो ।
वडागत २२ करोड मध्ये २ करोड प्रशासनिक खर्चतर्फको बजेट हो । उपमहानगरपालिकाले असार ९ गते भएको निर्णय सहमतिको आधारमा वडाको बजेट २२ करोडलाई बाँडफाड गरेर वडामा पठाएको जनाएको छ । त्यसरी पठाउदा चालु आर्थिक बर्षमा जुन अनुपातमा बजेट वडामा पठाइएको थियो, त्यही अनुपातमा बाँडफाड गरेर पठाइएको राजश्व परामर्श समितिका सदस्य सचिव भेषराज घिमिरेले जानकारी दिए । ‘असार १० गते कुन वडाले कति राजश्व संकलन गरेको छ, त्यसलाई पनि आधार मानेर बजेट पठाउने भन्ने थियो । तर, त्यसो गर्दा यो बर्ष चैत यता राजश्व नै संकलन हुन नसकेकोले समस्या हुने देखियो,’उनले भने,‘त्यसैले चालु आर्थिक बर्षमा बजेटको सिलिङबाट कुन वडाले कति पाएको थियो, त्यही अनुपातमा बजेट पठाइएको छ ।’
कुन वडाले कति पाए ?
वडा नं १:- ७६ लाख ४४ हजार ५ सय ७०
वडा नं २:- ६५ लाख ४२ हजार ३ सय ११
वडा नं ३:- ६६ लाख ४२ हजार ६ सय ४४
वडा नं ४:- १ करोड १३ लाख ४५ हजार ८ सय २६
वडा नं ५:- १ करोड २६ लाख ९८ हजार १ सय २६
वडा नं ६:- १ करोड २० लाख ४० हजार ९ सय ४८
वडा नं ७:- ६२ लाख १० हजार २ सय ९८
वडा नं ८:- १ करोड ४४ लाख ९८ हजार ३ सय ६०
वडा नं ९:- ७१ लाख १० हजार ८ सय ४०
वडा नं १०:- ७८ लाख ६२ हजार २ सय ११
वडा नं ११:- १ करोड ४३ लाख १ हजार ९ सय ४५
वडा नं १२:- ७४ लाख ६१ हजार ३ सय ५१
वडा नं १३:- १ करोड १६ लाख ७१ हजार ३ सय ७१
वडा नं १४:- ८३ लाख २३ हजार ९ सय ३०
वडा नं १५:- २ करोड १४ लाख ३२ हजार ८ सय १३
वडा नं १६:- १ करोड २५ लाख ६७ हजार ८ सय १३
वडा नं १७:- १ करोड ८५ लाख ५१ हजार ३ सय ३७
वडा नं १८:- ८० लाख ३६ हजार ५ सय ३९
वडा नं १९:- १ करोड ११ लाख ५७ हजार ३ सय २७
वडा नं २०:- १ करोड ३८ लाख ९८ हजार ९ सय २८
केही वडाका अध्यक्षहरुमा असन्तुष्टी
उपमहानगरपालिकाले पठाएको बजेटमा केही वडाहरुले भने असन्तुष्टी जनाएको छ । खास गरि असार १० गतेको सहमति अनुसार बजेट नपठाउदा बजेट कटौतीमा परेका वडाहरु असन्तुष्ट भएको हो । वडा नं १५ का अध्यक्ष नरेश इवारमले १५, १० र ४ नम्बर वडालाई धेरै मर्का परेको बताए । ‘जुन सुत्रबाट बजेट पठाउने भन्ने सहमति थियो, त्यसअनुसार आएन । हाम्रो वडामा त ११ प्रतिशतले फरक पर्यो । त्यसैले हामी यो मान्दैनौं, योजना पनि पठाउदैनौं,’अध्यक्ष इवारमले भने,‘१० गतेको कार्यपालिका बैठकमा भएको निर्णय भन्दा फरक तरिकाले बजेट आयो ।’
धरानका मेयर तिलक राईले यो बर्ष कोभिडले गर्दा आन्तरिक आम्दानीमा धेरै असर परेको र वडाहरुलाई १० करोडभन्दा बढी पठाउन सक्ने अवस्था नभएपनि धेरै माग भएकोले घाटा बजेट पठाइएको बताए । ‘२ करोड प्रशासनिक खर्च १० लाखको दरले पठाइएको छ, अरु १० करोड सबै वडामा विधि अनुसार पठाइएको छ,’मेयर राईले भने ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि असार ९ गतेको बैठकमा यो आर्थिक बर्षको राजश्वलाई आधार मानेर बजेट पठाउने कुरा भएको तर यो बर्ष कोभिड १९ ले गर्दा कर संकलन हुन नसकेको भन्दै वडाअध्यक्षहरुबाट अब्जेक्सन भएको बताइन् । ‘कर उठाउन पाइएको छैन । गत बर्षलाई नै आधार मानौं भनेर सहमतिको आधारमा बजेट पठाइएको हो,’उनले भनिन् ।