धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आज पदभार ग्रहण गरेका छन् ।

प्रतिष्ठानको अडोटरियम हलमा आयोजित एक समारोहबीच नवनियुक्त रजिष्ट्रार डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उपकुलपतिको सिफारिशमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले डा.रेग्मीलाई रजिष्ट्रारमा नियुक्ती गरेका थिए । डा.रेग्मी प्रतिष्ठानका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ एवं विभागीय प्रमुख हुन् । डा.रेग्मी रजिष्ट्रारमा नियुक्ती भएसँगै प्रतिष्ठानमा चारै जना पदाधिकारीले पुर्णता पाएको छ ।

bp-rajistar3

रजिष्ट्रार रेग्मीले पदभार ग्रहण गर्दै प्रतिष्ठानमा वैकल्पिक उर्जा प्रयोग गर्ने पहिलो निर्णय पनि गरेका छन् । प्रतिष्ठानले उर्जाको समस्या भोगीरहेकोले अब वैकल्पिक उर्जाको प्रयोगतर्फ ध्यान दिनुपर्ने र अध्ययन गर्नुपर्ने रजिष्ट्रार रेग्मीले बताए । आफु चुनौतीपुर्ण समयमा जिम्मेवारीमा आएको भएपनि सबैबाट साथ सहयोग पाउने उनले अपेक्षा व्यक्त गरे । ‘मेरो व्यक्तिगत स्वार्थ केही छैन । प्रतिष्ठानको स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्नेछु,’उनले भने, ‘सबैलाई अपनत्व हुने निर्णय नै म गर्नेछु ।’

समन्वयकारी भुमिका खेलेर अघि बढ्ने लक्ष्य आफ्नो हुने उनले बताए । बोलेर भन्दा काम गरेर देखाउनु चुनौती रहेको भन्दै उनले जुनियर कर्मचारी, विरामी र विद्यार्थीहरुले सबैभन्दा पहिला प्रत्यक्ष परिवर्तन भएको महशुस हुने गरी काम शुरु गर्नुपर्ने पनि बताए । सुचना र प्रविधिमा केन्द्रीत हुनुपर्ने उनको भनाई थियो । चुहावट रोक्न र जवाफदेहितालाई कार्यान्वयन गर्न सुचना, प्रविधिमा जानैपर्ने उनले बताए । ‘तपाईहरुसँग निरन्तर अन्र्तक्रिया गर्नेछौं, पदाधिकारीहरुसँग समन्वय गर्नेछुँ, र विज्ञहरुसँग पनि राय, सुझाव लिनेछौं,’उनले भने ।

dr-mohan-family1

पदभार ग्रहण समारोहलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, कार्यकारिणी समिति सदस्य डा.पशुपति चौधरी, चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेल र कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले मन्तव्य राख्दै प्रतिष्ठानको चारै जना पदाधिकारीहरु नियुक्ती भएकोले संस्थाको हित हुने धारणा राखेका थिए । उनीहरुले चारै जना पदाधिकारीहरु मिलेर संस्थाको हितमा काम गर्न आग्रह पनि गरे ।

bpkihs-rajistar2 bp-rajaistar4 bp-rajistar bp-rajistar1