धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् ।

धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी संक्रमण भयो भन्ने पुष्टि हुन सकेन । त्यसपछि विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई मात्र संक्रमण देखिदै आएको थियो । तर, केही दिनअघि प्रिति भल्वमा अडिटर रहेका धरान १३ का युवामा कोरोना पोजेटिभ देखियो । उनी लकडाउन शुरु हुनुअघि देखि नै धरानबाहिर कतै पनि गएका थिएनन् । उनी कार्यरत उद्योगका एक जना कर्मचारी जनकपुर, विराटनगर आउजाउ गर्ने र ती कर्मचारीलाई ज्वरो पनि आएकोले उसैबाट सरेको हुनसक्ने अनुमान गरिएको थियो । त्यसो हुदा समुदायस्तरमा धेरैमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको थियो ।

यसकारण पनि धरानलाई लकडाउन गर्नुपर्ने आवाज पनि उठिरहेको छ । तर, ३ दिनअघि सिडिओसहितको बैठकले धरानमा बिहान ९ देखि ५ बजेसम्म बजार खुल्न दिने निर्णय गर्यो । आज आशंका गरिएका प्रिति भल्वमा कार्यरत २ जना र एक जनाको परिवारसमेत गरि ५ जनामा संक्रमण पुष्टि भयो भने भारतीय सेनाका ४ जना मा पनि संक्रमण देखियो । उनीहरु ४ जना भने क्वारेन्टाइनमा थिए । आज ९ जनामा सँंक्रमण पुष्टि भएपछि फेरि समुदायमा संक्रमण फैलिएको र लकडाउन गर्नुपर्ने आवाज चर्कोरुपमा उठिरहेको छ ।

'समुदायस्तरमा परीक्षण गरेर मात्र लकडाउनको निर्णय'

जनस्तरमा समुदायमा संक्रमण फैलिएको र लकडाउन गर्नुपर्ने आवाज उठिरहे पनि धरानका मेयर तिलक राई भने समुदायमा संक्रमण फैलिसकेको भन्ने स्थितिमा अहिले नपुगेको बताउँछन् । क्लिकधरानसँग कुरा गर्दै मेयर राईले समुदायमा संक्रमण फैलिएको छ वा छैन भन्ने प्रमाणित गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुसँग छलफल र योजना तयार भइरहेको बताए । ‘समुदायमा नै संक्रमण गएको हो भन्ने स्थितिमा पुगेको छैनौं, डाक्टरहरुसँग छलफल गदैछों । समुदायस्तरमा पुगेको हो कि होइन भनेर धरानको स्थिति के छ, जोखिम कहाँ कहाँ छ भन्ने भइसके पछि २० वडामै नमुना छनौट गछौं, र पिसिआर गरिसकेपछि देखियो भने ६, ७ हजारको पनि गछौं,’मेयर राईले भने ।

लकडाउन गर्नुपर्ने दबाब आइरहेको स्वीकार गर्दै मेयर राईले समुदायस्तरको कोरोना परीक्षण गरेपछि मात्र निर्णय लिइने बताए । ‘दबाब आइरहेको छ, लकडाउन गर्ने कि के गर्ने भनेर । भोली पर्सीसम्म नमुना लिन्छौं, र अन्य निर्णय गछौं,’उनले भने । समुदायमा फैलिएको छैन भन्ने भयो भने यही स्थितिले निरन्तरता पाउने उनले बताए । ‘समुदायमा संक्रमण छैन भन्ने भयो भने जहाँ जहाँ देखिन्छ, त्यहाँ कन्ट्याक ट्रेसिङ गछौं,’उनले भने ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले पनि समुदायस्तरमा परीक्षण गरेपछि आउने रिपोर्टले मात्र संक्रमण समुदायमा फैलिएको हो कि होइन भन्ने पुष्टि गर्ने बताए । आज पोजेटिभ देखिएका ९ जनाको कन्ट्याक ट्रेसिङ भइरहेको र उनीहरु सबैको स्वाब परीक्षण गरिने पनि उनले बताए । ‘आजको पोजेटिभमध्ये एक जना जनकपुर, विराटनगरबाट आउजाउ गरिरहेकोले भन्ने पाइयो, धरानमा संक्रमण उनीहरुबाट भएको हो कि भन्ने देखिन्छ । किनभने यसअघि धरान १३ को पोजेटिभ युवाको ट्राभल हिष्टी देखिदैन, तर आज देखिएकाहरुको देखिन्छ,’ उनले भने ।