धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ९ जना नयाँ कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार भर्ना भएका ९ जना धरानका हुन् । आज धरान १७ स्थित क्वारेन्टिनमा रहेका ४ जना भारतीय आर्मी र ५ जना घरमा रहेकाहरुमा संक्रमण पुष्टि भएको थियो । उनीहरु भर्ना भएसँगै प्रतिष्ठानमा उपचाररत संक्रमितहरुको संख्या ४८ जना पुगेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए । प्रतिष्ठानका अनुसार हालसम्म २८२ जना उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका छन् । प्रतिष्ठानमा हालसम्म कुल १५ हजार ३ सय २ पिसिआर परीक्षण पनि भएको डा.सापकोटाले जानकारी दिए ।

कसरी हुन्छ वीपीमा संक्रमितको उपचार ?

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचारको लागि लेभल ३ सेवासहितको कोभिड १९ हस्पिटल पनि स्थापना गरिएको छ । तर, यो हस्पिटल अहिलेसम्म सुचारु हुन नसकेको भन्दै आलोचना पनि भइरहेको छ । साथै, संक्रमितहरु र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि राम्रो सेवा उपलब्ध नभएको गुनासो पनि सार्वजनिक भइरहेका छन् ।

प्रतिष्ठानमा कोरोना संक्रमितहरुको उपचार कसरी हुन्छ ? यो सवैलाई चासो छ । कोरोना संक्रमित व्यक्तिहरुलाई प्रतिष्ठानले गर्ने उपचार विधिबारे प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाकै शब्दमा :

कोरोना संक्रमित तर लक्षण नभएका ब्यक्तिहरु:

यस प्रकारका व्यक्तिहरुलाई Isolation Ward (एकान्तगृह) मा राखिन्छ । वहाँहरु अस्पतालमा राखेर नै उपचार गर्नु पर्ने नभएता पनि वहाहरुद्वारा समाजमा एवं परिवारका अन्य सदस्यहरुलाई कोरोना नसरोस् र समाजले हेयको दृष्टिकोणले नहेरोस् भनेर अस्पताल ल्याईएको हो । प्रतिष्ठानमा यस्ता विरामीलाई २४ सै घण्टा CCTV ले निगरानी गरिन्छ, एक ठाउँमा निगरानी Station वनाइएको छ र वहांहरु मध्ये कसैमा लक्षण देखिएमा Level-2 मा सारिन्छ । यस प्रतिष्ठानबाट हालसम्म २८२ जना Isolation वार्डबाट डिस्चार्ज भईसक्नु भएको जानकारी गराउछु ।

Level-2 सेवाः

कोरोना संक्रमित र लक्षण भएमा तर ICU सेवा नचाहिएको अवस्थामा यस वार्डमा राखिन्छ । यो वर्गमा केही ब्यक्तिहरु विद्यमान अवस्थामा पनि भर्ति हुनुहुन्छ, यस्ता व्यक्तिहरुको लागि नियमित चिकित्सकको राउण्ड हुने, नर्सिंग स्टेसन पनिसगै हुने र परेको वेलामा तुरुन्त चिकित्सकलाई वोलाउन सकिने व्यवस्था हुन्छ ।

Level-3 सेवाः

संक्रमितलाई ICU मा राखेर उपचार गर्नु पर्ने अवस्था आएमा सो सेवा Level-3 सेवा अन्र्तगत पर्दछ । यसमा चिकित्सक, नर्स २४ सै घण्टा तैनाथ हुन्छन् । यस वर्गमा पर्ने विरामीलाई Dialysis पनि चाहिन सक्छ र यो सवै सुविधा प्रतिष्ठानमा उपलब्ध छ र हाल सम्म ९ जना ब्यक्तिले यो सुविधा प्रयोग गरेको जानकारी गराउदछु ।