धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ ।

वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद्धिमान तामाङले त वन कार्यालयमा मेयरविरुद्ध किटानीसहित उजुरी समेत गरेका छन् । तर, मेयर राईले भने आज विज्ञप्ती जारी गर्दै आफु रुख काटिएको घटनामा कुनै संलग्नता नभएको, वन समुहका कोषाध्यक्ष भिम बस्नेतसँग जंगल नगएको दाबी गर्दै चरित्र हत्या गर्ने प्रयास गरेको बताएका थिए । तर सार्वजनिक भएको अडियोमा भने उनले कोषाध्यक्ष बस्नेतसँग जंगलमा ढलापडा रुख खोज्न गएको तर ढलापढा रुख चित्त बुझ्दो नभेटेको बताएका छन् ।

यो अडियो गएको शनिबार साँझको भएको बताइएको छ । शनिबार नै भालढुंगामा सखुवाको रुख काटिएको थियो । उपभोक्ताहरुले थाह पाएपछि मेयर राईले वन समुहका अध्यक्षलगायतसँग भेटेर कुरा गर्दा रेकर्ड गरिएको अडियो हो । मेयर राईले आफ्नो घर बनाउने योनजा सुनाउदै गर्दा एक जनाले 'तपाईले अस्ति प्रस्ताव पनि राखेको हो' भनेका छन् ।

भालढुंगामा ८, १० बर्षअघिदेखि घर बनाउने योजना भएको भन्दै मेयर राईले बाजेलाई भनेर हप्ता, १० दिनअघि आफै ढलापडा छ कि भनेर हेर्न गएको पनि भनेका छन् । पछि उनले भिम दाई(कोषाध्यक्ष)लाई पनि लएर गएको तर एउटा सानो रुख भेटेको बताएका छन् । अर्को, एउटा भेटे पनि त्यो पोचा परेकोले कामै नलाग्ने अवस्था भएको उनले भनेका छन् । ‘अस्ति अगाडि बाजेलाई पनि भने । हप्ता १० दिनअघि । बजे मेरो यस्तो छ । म आफै पनि घुम्न गए, ढलापडा छ कि भनेर हेर्न गयौं । त्यस्तो देखिएन । पछि भिम दाईलाई लिएर पनि गयौ,’मेयर राईले भनेका छन्,‘ढलापडा रैछ एउटा । सानो रैछ । १५, २० किवि पनि आउदैन । एउटा रहेछ, त्यो पोचा परेको । कामै लाग्दैन । काट्ने मान्छेले काट्न मान्दैन । काट्नेलाई पनि पोसाउनु पर्यो नि त ।’

मेयर राईले भिम दाईलाई लिएर जंगल गएको र फोटो खिचेर पनि ल्याएको पनि भनेका छन् । उनले गाउँलेहरुलाई नै काठ काट्ने, बोकाउने र मिस्त्री लगाएर घर बनाउने पनि योजना सुनाएका छन् । यसरी घर बनाउदा पैसा गाउँमा बाँडिने उनले बताएका छन् । ‘भिम दाईले भन्नु भयो, भाई इट्टासिट्टाले बनाउ न । इट्टा होइन, टाडे घरमा बस्न मन छ यहाँ गाउँमा । अहिले काठ भएको बेला । इटा त धरानजस्तो भै हाल्यो नि,’मेयरले भनेका छन् ।

मेयर राईले वन समुहले निर्णय गर्ने प्रक्रिया भएको कुरा उल्लेख गर्दै वन समुहको बैठकले शनिबार ढलापडा हेर्न जाने निर्णय गरेको तर भिम दाई(कोषाध्यक्ष) नभ्याउने भएको पनि उल्लेख गरेका छन् । उनले धरानको हरियाली वन समुहका चिनेजानेको भाईहरुलाई ४ सय दिएर रुख काट्नको लागि हेर्न ल्याएको तर टाढा भएको भनेर गुनासो गरेको पनि खुलाएका छन् । ‘अस्तिको दिन हेर्न ल्याएको थिए, दाई टाढा भयो भने । यति त गर्दैन भाई, लकडाउन छ, कम्तीमा लकडाउनमा अफिस पनि जानु पर्दैन । यो दशैअघि नै लकडाउनमा घर पनि बनाइहाल्छु,’करिब ६ मिनेटको अडियोमा भनिएको छ ।

Tilak_Letter_Image_Only