धरानः भर्खरै साझा पार्टीले प्रदेश १ को युवा सँगठन घोषणा गरेको छ । ३७ सदस्य समितिमा प्रदेश १ का १३ जिल्लाका युवा समेटिएका छन् । मोरङका च्याउ किसान सरोज नेपालको सँयोजकत्वमा बनेको साझाको नयाँ युवा सँगठनको भुमिका लगाएतका विषयमा क्लिक धरानले नेपालसँग गरेको कुराकानीको सँक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

नेपालका थुप्रै दलका युवा सँगठनहरु छन् । तपाइले साझा युवा संगठन नै किन रोज्नुभयो ?

-अरुबाट परिवर्तनको आशा गर्ने होइन, आँफैले थालनी गर्ने हो । मुलधारका भनिएका दलहरुले युवालाई प्रयोग मात्र गरे । जहिल्यै बन्द, हडताल र चक्काजाममा मात्र प्रयोग गरे । उनीहरुको व्यक्तित्व विकास र नेतृवको अग्रसरताका लागि अवसर नै दिएनन् । साझा पार्टीको सिद्धान्तमै युवालाई सृजनशिल र क्षमतवान बनाइन्छ र नेतृत्वका लागि अवसर दिइन्छ भनेको छ । म यहि विश्वासका साथ आम युवालाई गोलबन्द गर्ने प्रतिज्ञासहित साझा युवा सँगठनमा आवद्ध भएको हुँ ।

युवाको क्षमता अभबृद्धि गर्दै नेतृत्व हस्ताण्तरण गरिन्छ भन्ने के ग्यारेन्टी छ ?

-केहि आधारहरु पक्कै छन् । पार्टीले विद्यालय र कलेजमा सँगठन नबनाउने निर्णय गरेको छ । जसले गर्दा शिक्षण सँस्थाको चौघेरामा राजनीति हुनेछैन । तर, बाहिरी समाजका युवाले राजनीति बुुझ्नु आवश्यक छ भने राजनीतिक बुुझाउनु अनिवार्य पनि छ । किनकी हामी जो जहाँ छौँ त्यहाँ राजनीति नभएको ठाउँ छैन । अनि अरुको भरमा परिवर्तन कुरेर बस्ने कि आफुले सुरुवात गर्ने ? प्रश्न यो हो । त्यसैले हाम्रो पार्टीको सिद्धान्त व्यवहार अरु दलभन्दा फरक छ । हामी व्यवहारबाटै प्रस्तुत गर्छौँ । तसर्थ साझा, युवाहरुको व्यक्तित्व फराकिलो बनाउने उपयुक्त प्लेटफर्म हो ।
 
पार्टीले युवालाई उत्साहित गर्ने के त्यस्तो काम गर्छ ?

-सबै भन्दा पहिले युवालाई क्षमतावान बनाउने हो । पार्टीले बेलाबेला मोटिभेशनल तालिम दिइरहन्छ। अर्को भनेको युवालाई प्रश्न गर्न र नेतृत्वमा स्थापित गर्न बल गर्छ । मताधिकारको प्रयोग गर्नसक्ने युवाले नेतृत्व किन लिन नसक्ने ? हामी हरेक युवालाई यहि प्रश्न सोध्न सक्षम बनाउने छौँ र नेतृत्व लिन काबिल पनि ।
त्यस्तै हामीले अभियान चलाउने अर्को पनि विषय छ। त्यो हो, विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार । अदालतले विदेशमा रहेका नेपालीलाई मत हाल्ने अधिकार दिइसकेपछि सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गराउनु पर्छ र त्यसको व्यवस्थापनका लागि पहल गर्नुपर्छ । नोट चल्नेको भोट चल्ने अधिकार दिलाउन हामी विशेष अभियान चाल्नेछौँ ।
 
स्थानीय सरकारलाई विशेष खबरदारी गर्ने तपाइहरुको तयारी छ । त्यो कसरी सम्भव छ ?

-जनताले अनुुभुत गर्ने सरकार स्थानीय सरकार नै हो । यसको काम कारवाहीले सँघीयताको मर्म बोकेको छ । तर, धेरै पालिकामा काँग्रेस, कम्युनिष्टका जनप्रतिनिधि छन् । विपक्षी नहुँदा विकासमा सन्तुलन नभएको र पहुँचका आधारमा योजना बाँडिएको व्यापाक गुनासो छन् । हामी यहिँबाट काम थाल्छौँ । हरेक पालिकामा हाम्रो युवा मोर्चा हुन्छ । त्यसले कानूनसम्वत सुचना माग गर्छ । जनताको काममा बाधा नपुुर्याइ कानूनी बाटोमार्फत जवाफ माग्ने र आवश्यक परे विरोध गर्ने काम गछौँ । जनतालाई सुसुचित गरि विकासमा भइरहेका अनियमितता र ढिलासुस्तिलाई रोकी जनताको सहज सेवा प्रवाहका लागि पहल थाल्छौँ ।

तपाई वैदेशिक रोगजारीबाट फर्किएर कृषी पेशामा रमाउनु भएको मान्छे, किन राजनीतितिर हात हाल्नुभयो ?

-सबै कुरा राजनीतिसँग जोडिएको छ भन्ने कुरा आफु च्याउ किसान भएपछि महसुस गरेँ । किसानको सँगठनमा आवद्ध हुँदा त्यहाँ किसानको समस्या भन्दा पनि बढि राजनीतिक कुरा भएपछि मैले यो फोरमबाट समग्र समाजको परिवर्तन सम्भव नहोला भन्ने लाग्यो र मैले वैकल्पिक शक्ति रोजें ।
कृषि क्षेत्रका समस्या ज्युँका त्युँ रहे । मैले यसलाई चिर्न नवीन विचार भएको पार्टीमा लाग्नुुपर्छ भन्ने सोचर नै यो निर्णय लएका हँ । कृषि क्षेत्रका कुरा विभिन्न निकायमा पुुर्याउन र भावि पुस्ताको भविष्य सुनिश्चितताका लागि पनि म यो अभियानमा सामेल भएको हुँ ।

राजनीति र कृषिलाई कसरी अघि बढाउनुहुन्छ ?

-मेरो व्यवसायलाई सिस्टममा लगेको छु । कृषिलाई २० प्रतिशत र राजनीतिलाई बाँकि समय दिने गरि व्यवस्थापन गरेको छु । मलाइ राजनीतिका लागि परिवारको साथ छ । मेरा भाइहरुले व्यवसाय सम्हालेका छन् । मैले व्यवसायको बजारिकरणको काम जिम्मा लिएको छु । यसले पनि मलाइ समय व्यवस्थापन गर्न केहि सहज भएको छ । मैले किन पनि पार्टीलाई पुरा समय दिएको छैन भने मैले पार्टीबाट कमाएर खाने होइन । मैले जीवन निर्वाह गर्नपुग्नेगरि मेरो पेशाबाट नै कमाउन सक्नु भने बाँकि समय राजनीतिमार्फत समाज परिवर्तका लागि खर्चिन्छु ।

साझा पार्टीको विचार मन पराएर यो अभियानमा जोडिन चाहनेलाई के भन्नुहुन्छ ?

-जो कोहि व्यक्ति कुनै सँस्था या सँगठनमा जोडिन पहिले त्यो सँगठन बारे स्पष्ट हुनु जरुरी छ । यहाँ त नबुझि धारणा बनाउने र राम्रो या नराम्रो भनिहाल्ने प्रवृति हावि छ । म यो अभियानमा जोडिहाल्नुु भन्दा पहिले साझाबारे स्पष्ट हुन आग्रह गर्दछु । यहाँ जो पायो त्यहि युवा जोडिने भन्दा पनि समाज रुपान्तर गर्न सक्ने र नेतृत्व लिन हिम्मत गर्ने जुझारी युवाको खाँचो छ ।
कम्तिमा हाम्रो पार्टीको विचार र दर्शन बुझेर आउन आग्रह गर्दछु । हामी किन पनि प्रष्ट छौं भने हामी हाम्रो नेतृत्वलाई निशंकोच प्रश्न गर्न सक्छौँ । आफ्ना नेतृत्वलाई प्रश्न गर्ने समाथ्र्य छ अनि नेतृत्व त्यसप्रति जवाफदेही छ र न साझा अरु दलभन्दा फरक छ ।

अहिलेका युवाको मत जीत्न के सजिलो होला र ?

-मान्छे प्राय तीन प्रकृतीका हुन्छन् । पहिलो पलायनवादी, दोस्रो यथास्थितिवादी र तेस्रो परिवर्तनशील र आशावादी । तर तेस्रो श्रेणीका मान्छे एकदम कम हुन्छन् । तर, तिनीहरु परिवर्तनका झिल्को हुन् । हामीलाई यहि झिल्को काफि छ । हामी थोरै होलाउँ । तर, औलामा गन्न सकिनेहरुको विस्तारिक रुपले परिवर्तन दिलाउन सक्छ भन्नेमा स्पष्ट छौँ ।
हामी के पनि स्पष्ट छौँ भने अझै केहि वर्ष यि परम्परागत दलहरुले नै सत्ताको नेतृत्व गर्लान् । तर आउँदो चुनावमा हामी राष्ट्रिय पार्टी बन्नेछौँ र अर्को चुनावपछि देशको नेतृत्व गर्नेछौँ ।

अरु दलका युवा सँगठनप्रति तपाइको धारणा के छ ?

-हामी साँघुरो सोचाइ राख्दैनौँ । समाज रुपान्तरणका लागि सबै युवा साझा युवा सँगठनभित्र मात्रै हुनुपर्छ जस्तो लाग्दैन । जो जहाँ छौँ समाजको नेतृत्व लिने ठाउँमा आउनुपर्छ र असल कामको थालनी गर्नुुपर्छ । अरुको भर परे झन्झन् ढिला हुन्छ ।
हामी त यो पनि स्पष्टसँग भन्दै आएका छौँ की यदि परम्परागत सोच बोकेका पार्टीहरुले यो मुलक परिवर्तन गर्ने अठोट गरे र जनताले त्यो अनुभुत गरे भने हामी पार्टी विघटन गरेर उनीहरुको अभियानमा सहभागी हुनेछौँ । यो हाम्रो पार्टीको स्पष्ट र खुल्ला च्यालेन्ज हो । नेपालका जनताले धेरै दल होइन । थोरै दलबाट परिवर्तनको अपेक्षा गरेका छन् ।