धरान: कोरोना संक्रमणको कारण लामो समयदेखि बन्द रहेको धरानका विद्यालयहरुमा कसरी पठनपाठन सञ्चालन गर्ने भनेर उपाय सुझाउन एक कार्यदल गठन गरिएको छ ।

हिजो बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला संघसंस्था तथा व्यक्तिहरुबीच भएको छलफलले ११ सदस्यीय कार्यदल गठन गरेको हो । धरान उपमहानगरको शिक्षा महाशाखाको मातहतमा रहने गरी गठन गरिएको कार्यदलको संयोजक भने तोकिएको छेन । शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्ने निर्देशिका जारी गरेपछि धरानमा पनि पठनपाठन कसरी शुरु गर्ने भनेर वहस शुरु भएको हो ।

सर्वपक्षिय छलफलमा ठोस निर्णय भने हुन नसकेको र कार्यदल गठन भएको निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी यूनियन (प्याप्सु)का अध्यक्ष तथा कार्यदलका सदस्य रोम ढुङ्गेलले बताए । ‘सरकारले बैकल्पिक विधिबाट विद्यालय सञ्चालनका लागि निर्देशिका जारी गरिसकेको छ । हामीले पनि कसरी पठनपाठन सञ्चालन गर्ने भनेर सर्वपक्षिय छलफल बस्यौं । आ–आफ्नो कुरा राख्यौं, ठोस निर्णय निकाल्न सकिएन,’उनले भने,‘अब शिक्षा महाशाखाको मातहतमा ११ सदस्य कार्यदल गठन भएको छ । यो कार्यदलले अध्ययन गरेर सुझाब पेश गर्छ, त्यही अनुसार अगाडी बढ्ने भन्ने छलफल भयो ।’ उनका अनुसार यो कार्यदलले निजी विद्यालयले कहिलेदेखी शुल्क लिने भन्ने बिषयमा पनि अध्ययन गर्नेछ ।

कार्यदलले सुझाब पेश गर्ने मिति नतोकिए पनि चाडो सुझाब पेश गर्नेछ । कार्यदलमा सामुदायिक विद्यालयबाट शिक्षक संघ, शिक्षक महासंघ र शिक्षक संगठन सहभागी छन् । यस्तै, निजी विद्यालयबाट इष्टु, प्यावसन, एन प्याब्सन, एसीसी रहेका छन् । यस्तै, विज्ञको रुपमा प्राडा.राजेन्द्र शर्मा, आनन्द आचार्य, शिक्षा महाशाखा प्रमुख रत्न कट्वाल र पब्लिक माविका प्रअ इन्द्र मोहन झा पनि कार्यदलमा छन् ।

शिक्षा महाशाखा प्रमुख कटवालका अनुसार कार्यदलको बैठक आज दिउँसो २ बजे राखिएको छ । बैठकले हिजो छलफलमा आएका विज्ञहरुको राय, सुझावलाई पनि मनन गर्दै पठनपाठन कुन मोडालिटीबाट सम्भव हुन्छ भनेर ठोस छलफल गर्ने बताए । ‘वैकल्पिक पठपाठनको निर्देशिका आएको छ, त्यो भनेको अनलाइन पनि हुनसक्छ । तर अनलाइनमा नभएकालाई के गर्ने ? रेडियो, टिभिबाट छदैछ, त्यसबाहेक अन्य कुन विधि हुनसक्छ ? भनेर अध्ययन हुन्छ,’कटवालले भने,‘विद्यालयमा संक्रमण फैलिने डर छ । संक्रमण नफैलने तर पठनपाठन पनि हुने विधि के हुनसक्छ ? त्यो मोडालिटी तय गछौं ।’