धरान: कोरोना महामारीको कारण ठप्प भएको शैक्षिक गतिविधिहरु कसरी सञ्चालन गर्ने भनेर धरान उपमहानगरपालिकाद्वारा गठित सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रा.डा.राजेन्द्र शर्मा संयोजक रहेको कार्यदलले हिजो आइतबार शिक्षा महाशाखामा बुझाएको हो । महाशाखाले थप छलफल गरेर भोली मंगलबार मात्र प्रमुख, उपप्रमुखलाई प्रतिवेदन बुझाउने महाशाखा प्रमुख रत्न कटवालले जानकारी दिए । कार्यदलले कक्षा ८, ९ र १० को पठनपाठन प्रत्यक्ष शिक्षण सिकाई विधिबाट सञ्चालन गर्ने सुझाव दिएको छ ।

यो कक्षाका विद्यार्थीहरु स्वास्थ्य सचेतनाको दृष्टिले सचेत रहनसक्ने र महामारीसँग सजग पनि रहनसक्ने भएकोले यी ३ वटा कक्षालाई प्रत्यक्ष सिकाई विधिबाट नै पठनपठान शुरु गर्न सुझाव दिएको हो । यसबाहेक अन्य कक्षाहरुको हकमा भने दुर तथा खुल्ला शिक्षा पद्दती वा वैकल्पिक पद्दती अवलम्वन गरी सिकाईलाई निरन्तरता दिनु उपयुक्त हुने कार्यदलको सुझाव रहेको एक सदस्यले जानकारी दिए ।

कार्यदलले कक्षाहरु सञ्चालन गर्दा विद्यार्थी र अभिभावकको सहमति र इच्छा विपरीत विद्यार्थीहरुलाई अनिवार्य उपस्थित हुन करकाप गर्न नहुने सुझाव पनि दिएको छ । ‘बरु प्रत्यक्ष कक्षा सञ्चालन भएकै समयमा सोही कक्षाको अनलाइन प्रसारणसमेत गरेर घरमै बसेर पढ्न चाहने वा धरान बाहिर रहेका विद्यार्थीहरुलाई सो सुविधा उपलब्ध गराउन उचित हुनेछ,’सदस्यले उपलब्ध गराएको कार्यदलको सुझावमा भनिएको छ ।

कक्षा ८, ९ र १० को प्रत्यक्ष कक्षामा सामेल हुने विद्यार्थीहरु पुर्ण स्वस्थ्य हुनु अनिवार्य रहेको भन्दै कार्यदलले विद्यालय प्रवेशस्थलमा नै स्वास्थ्य सम्बन्धी परीक्षण गर्न पनि सुझाएको छ । यस्तै, सामाजिक दुरी कायम हुने गरि कक्षा कोठामा पनि प्रति वेञ्चमा एक विद्यार्थी मात्र रहने गरि सिफ्ट मिलाएर कम समय अवधि कक्षा सञ्चालन गर्न तथा महत्वपुर्ण सिमित बिषयहरुमा बिशेष जोड दिन पनि सुझाव दिएको छ ।

लिखित नोट वा भिडियोरुपमा पाठ्य सामग्री विद्यार्थीको हातमा पुर्याउन सुझाव

कार्यदलले पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित लिखित नोट एवं भिडियोका रुपमा पाठ्यसामग्री तयार गरी विद्यार्थीका हातहातमा पुर्याउने प्रबन्ध गर्न पनि सुझाव दिएको छ । यसको प्रबन्ध स्थानीय सरकारको समन्वयमा विद्यालयले गर्न पनि कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

अनलाइन वा भर्चुअल प्रविधिमा कक्षा सञ्चालन गर्ने सीप सबै विद्यालयमा उपलब्ध नहुने भएकोले विद्यालयको साझेदारीमा शिक्षकहरुलाई प्रविधि मैत्री बनाउन छोटो अवधिको तालिमको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

कार्यपालिकाबाट निर्णय गछौं: उपमेयर

उपमेयर मञ्जु भण्डारी सुवेदीले शिक्षा क्षेत्रलाई सहज कसरी बनाउने भनेर गठन गरिएको कार्यदलको सुझावलाई कार्यपालिकाबाट पारित गरिने बताइन् । ‘कुन मोडलमा शिक्षा क्षेत्रलाई सहज बनाउने भनेर कार्यदल गठन गरेका छौं, त्यहाँबाट आएको सुझावलाई कार्यपालिकाबाट पास गरेर लागु गछौं,’उनले भनिन्,‘कक्षा ८, ९ र १० लाई प्राथमिकता दिएका छौं । कक्षा कसरी जाने, शिक्षकले के गर्नेलगायत बसै तयारी गरेर मात्र कक्षा शुरु हुन्छ ।’


2 1
4