धरान: दशैं शुरु भएपछि नेपालकै प्रमुख शक्तिपिठ मध्येको एक धरान १४ स्थित दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो हुन्थ्यो । बिशेष गरि घटस्थापनाको दिनदेखि शुरु हुने नवरात्रीमा युवायुवतीहरु बिहानै विजयपुरको मठमन्दिरतिर घुम्न निस्कन्थे ।

यसपाली भने कोरोना महामारीको कारण दशैं र नवरात्री पनि प्रभावित हुने भएको छ । सरकारको निर्णय अनुसार जिल्ला प्रशासनले कुनै पनि मठमन्दिर, शक्तिपिठमा सर्वसाधारण भक्तजनहरुलाई प्रवेश नगराउन निर्देशन दिएको छ । सोही निर्देशन अनुसार दन्तकाली मन्दिरमा पनि वडा दशैंमा नित्य पूजा तथा दशैंको बिशेष पुजा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको छ ।

दन्तकाली मन्दिर गुठी व्यवस्थापन समितिले पनि एक सुचना जारी गर्दै यसपटक घरमा नै देवीको आराधाना गरेर दशैं मनाउन आग्रह गरेको छ । व्यवस्थापन समितिका सचिव तथा पुजारी विश्वराज खनालले यसपाली नवरात्री पनि नहुने र वलि पनि मन्दिरको बाहेक अन्य कसैको नलिइने बताए । ‘मन्दिरको बाहेक बाहिरको वलि हुदैन, पहिलाको जस्तो नवरात्री पनि हुदैन,’उनले भने,‘नित्य पुजा हुन्छ, र त्यसबेला पुजारीबाहेक अन्यलाई प्रवेश दिइदैन ।’

पुजारी खनालका अनुसार यसपाली फुलपातीको बडाई विधि मात्र हुनेछ । सधैं फुलपाती धुमधामका साथी भित्र्याइने गरिन्थ्यो । विजयपुरमा परिक्रमा गरेर डोलीमा फुलपाती भित्र्याइन्थ्यो । ‘यो पटक परम्परा थाम्ने काम मात्र हुन्छ । फुलपाती बडाई विधि मात्र हुन्छ । भक्तजनहरु कसैलाई पनि मन्दिरमा प्रवेश गर्न दिइदैन,’खनालले भने ।

पुजारी खनालका अनुसार नवरात्र शुरु भएको पहिलो दिन दुर्गालाई शैल(हिमालय पुत्री)कोरुपमा बिशेष पुजा आराधाना गरिन्छ । शैल पुत्री नै पार्वती हुन् । दोस्रो दिन ब्रह्मचरिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुश्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौ दिन महा गौरी र नवौं दिन सिद्धि दात्रीकोरुपमा पुजा गरिन्छ । मुख्य पुजारी खनाल भन्छन्,‘यी सबै दुर्गाको रुप हो, यी रुप धारण गरेर दुर्गाले अधर्मी विभिन्न दानवहरुको अन्त्य गरेको पुराणहरुमा उल्लेख छ ।’

danta